हेभिवेट नेताहरु नै प्रत्यक्ष चुनावी प्रतिष्पर्धाबाट किन पछि हट्दैछन्

एकातर्फ चुनावी दौडधूप अर्कोतर्फ महङ्गो चुनावी खर्च । राजनीतिमा अनिश्चयको कालो बादल यसै पनि मडारिइरहेको छ । यस्तो अवस्थाबीच हेभिवेट नेताहरु प्रत्यक्ष सांसद बन्ने प्रतिष्पर्धाबाट पछि हट्न थालेका छन् ।

चुनावमा युवा र स्वतन्त्रको चुनौती नेताहरुका लागि टाउको दुखाई बनेको छ । तीन दशकभन्दा बढी समय सत्ता र शक्तिमा रहनु र परीक्षण भइसकेकाले जनतामा उनीहरुप्रति तिव्र असन्तुष्टि बढेकाले पनि ब्याक हुन थालेका हुन् ।

शिर्ष नेताहरु शेरबहादुर देउवा, केपी शर्मा ओली, प्रचण्ड, माधवकुमार नेपाल, झलनाथ खनाल, उपेन्द्र यादव, महन्थ ठाकुरलगायत नेताहरुमध्ये को को प्रत्यक्ष निर्वाचनमा सहभागी हुने चासो बनेको छ । यीमध्ये केही समानुपातिक सांसद बन्ने सम्भावना बढेर गएको छ ।

काँग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधि धनुषाबाट चुनाव नलड्ने र समानुपातिकमा बस्ने चर्चा छ । उनी यसअघि धनुषाबाट राजेन्द्र महतोसँग चुनाव हार्न पुगेका थिए । यसपटक निधि चुनावी तनावमा भन्दा समानुपातिकमै बस्न चाहेको बुझिएको छ ।

काँग्रेसका अर्का नेता रामचन्द्र पौडेल पनि तनहुँबाट चुनावको तयारीमा छन् । तर, तनहुँमा पछिल्लो पुस्ताका नेताहरुको दबाबले पौडल पनि ब्याक हुने सम्भावना देखिएको छ । उनी चुनाव लड्दै आएको क्षेत्रमा गोविन्दराज जोशीले पनि उम्मेदवारी घोषणा गरेका छन् । उक्त क्षेत्रमा २०७४ मा एमालेको सूर्य चिन्हका किसान श्रेष्ठ विजयी भएका थिए जो हाल नेकपा एसमा छन् । तनहुँमा किसान श्रेष्ठको दाबी पनि छ ।

त्यसो त प्रधानमन्त्री शेरबहादुर देउवा डडेलधुराबाट चुनाव लडेर सातौंपटक जितेर किर्तिमान बनाउने प्रयासमा छन् । तर, देउवा समानुपातिकमा बस्ने चर्चा पनि छ ।

भेट्रान वामपन्थी नेता वामदेव गौतम चुनावी क्षेत्र खोजिरहेका छन् । उनी बर्दियाबाट चुनाव लड्ने सम्भावना कमजोर छ । प्युठानबाट चुनाव लड्ने चाहना राखेका छन् । तर, उक्त क्षेत्रमा जनमोर्चाकी दुर्गा पौडेल नै उम्मेदवार बन्ने निश्चित छ । यसकारण वामदेव माओवादी कोटाको समानुपातिकमा बस्ने सम्भावना बलियो छ ।

चुनावमा पटक पटक जितेका या पटक पटक उम्मेदवार बनेकाप्रति मतदाताको मन बदलिएको सन्देशहरु प्रवाह भइरहेका छन् । चुनावी खर्च पनि बढेको छ । त्यसमाथि पटक पटक उम्मेदवार बन्नेका लागि बढेको छ । अर्कोतर्फ, युवा र स्वतन्त्र उम्मेदवारहरुको पक्षमा लहर देखिइरहेको छ । यसकारण पनि नेताहरु प्रत्यक्ष चुनाव लड्ने भन्दा समानुपातिकमा बसेर प्रतिनिधि सभाको सिट सुरक्षित गर्नेतर्फ लागेको देखिदैछ ।रिपोर्टर्सनेपाल डटकमबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार