सन्तोष राउत/सोलुखुम्बु। नेकपा एमाले जिल्ला कमिटी सोलुखुम्बुले प्रतिनिधिसभा सदस्यको प्रत्यक्षतर्फ मानविर राई सर्वसम्मत उम्मेदवार सिफरिस गरेको छ । एक मात्र निर्वाचन क्षेत्र रहेको सोलुखुम्बुबाट जिल्ला कमिटी बैठकले राईको एकल सिफारिस सहित प्रतिनिधिसभा सदस्यको समानुपातिक तथा प्रदेशसभाको प्रत्यक्ष र समानुपातिकतर्फ २० जना उम्मेदवार सिफारिस गरेको हो ।
प्रतिनिधिसभाको समानुपातिकमा सुर्यकुमारी सुनुवार र दाडोमा शेर्पाको नाम सिफारिस गरेको जिल्ला कमिटी अध्यक्ष डुफकुमार बास्तोलाले जानकारी दिनुयभो ।
प्रदेश सभा ‘क’ को प्रत्यक्षमा वर्तमान सांसद उत्तमकुमार बस्नेत र नेता महेश किराँतीको नाम सिफारिस भएको छ भने समानुपातिकमा सावित्रा भट्टराई, नरेन्द्र कुलुङ, लक्ष्मी कार्की बस्नेत, कल्पना गिरी, पार्वती राई र प्रभुराम कार्कीको नाम सिफारिसमा परेको छ ।
त्यस्तै, प्रदेश सभा ‘ख’मा वर्तमान सांसद बुद्धिकुमार राजभण्डारी, नेताहरु मिङमारछिरी शेर्पा, आशकुमार राई ‘शिशिर’ र दिपक राजभण्डारीको नाम सिफारिस भएको छ भने समानुपातिकमा डिबी रानापाल, आङकाजी शेर्पा, कुमार राई, केशव खड्का र कल्पना राईको नाम सिफारिस गरिएको अध्यक्ष बास्तोलाले बताउनुभयो ।