सन्तोष राउत/सोलुखुम्बु । आगामी मङ्सिर ४ गते हुन गइरहेको प्रदेस सभाको निर्वाचनका लागि सगरमाथाको जिल्ला सोलुखुम्बुबाट मधेसीमूलका एक्लो ‘झा’ सिफारिस हुनुभएको छ । नेपाल तरुण दल सोलुखुम्बुको अध्यक्ष तथा नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि समेत रहनुभएका अशोककुमार झा प्रदेश सभाको समानुपातिकतर्फ सिफारिस हुनुभएको हो ।
नेपाली काँग्रेस जिल्ला कार्यसमिति सोलुखुम्बुले झालाई प्रदेश सभा निर्वाचन क्षेत्र (क) बाट समानुपातिक उम्मेदवारमा सिफारिस गरेको छ । तरुणहरुबीच निकै लोकप्रीय नेता झा सोलुखुम्बु कांग्रेसमा प्रभावशाली नेताका रुपमा लिइन्छ ।
दोस्रो कार्यकाल तरुण दल जिल्ला अध्यक्ष निर्वाचित तथा पार्टीको १३ औं महाधिवेशनदेखि निरन्तर महाधिवेशन प्रतिनिधिमा निर्वाचित झाले काँग्रेस सोलुले बहुसंख्यक जातिलाई मात्र नहेरी क्षमताका आधारमा मलाई सिफारिस गरेर न्याय गरेको बताउनुभयो । जिल्लाले गरेको सिफारिसलाई केन्द्रले न्याय गर्ने उहाँको विश्वास छ ।
जिल्लामा युवा परिचालन तथा समन्वयमा अग्रणी भूमिका खेल्न सक्ने नेताका रुपमा परिचित झाले पार्टीले अवसर दिएमा लाकप्रिय मत ल्याउने दाबी गर्नुभयो । राजनीति कुनै स्वार्थपुर्तिका लागि नभई सेवाका भावले गर्नुगर्नुे उहाँको भनाइ छ ।
सप्तरीमा जन्मनुभएका झा सानैदेखि सोलुखुम्बुको नेचासल्यान २ मा बसोबास गर्दै विद्यालय तहको अध्ययन महेन्द्रोदय माध्यामिक विद्यालयबाट पूरा गर्नुभएको हो । विद्यालय तहबाट नै उहाँ नेविसंघमा सक्रिय रहेको उहाँका समकालीनहरु बताउँछन् ।