सोलुखुम्बु । सोलुखुम्बुको थुलङ दूधकोशी गाउँपालिका ६ मुक्लीमा नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डद्वारा दूधकोशी सामूदायिक अस्पताल सहित एकैदिन फरक फरक तीन भवनको उद्घाटन कार्यक्रमको सबै तयारी पूरा भएको छ।
संविधान दिवसको अवसरमा गणतान्त्रिक नेपालका प्रथम प्रधानमन्त्री दाहाल, अर्थमन्त्री जनार्दन शर्मा, प्रदेश १ का आर्थिक मामिला मन्त्री इन्द्र आङ्रुबो, नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा सोलुखुम्बु इन्चार्ज हेमकुमार राई लगायतको उपस्थितिमा हुने बहुप्राविधिक शिक्षालय र गाउँपालिकाको प्रशासनिक भवनको उद्घाटनको तयारी पूरा भएको गाउँपालिकाले जनाएको छ।
अस्पतालका लागि गाउँपालिकामा श्रीमद् भागवत महायज्ञ लगाएर स्वदेश तथा विदेशमा रहने ब्यक्तिहरुबाट रकम सङ्कलन गरी सुविधा सम्पन्न ५० शैयाको अस्पताल निर्माणको काम थालिएको थियो ।
विपन्न नागरिकलाई गाउँमै गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन गाउँपालिकाको केन्द्र मुक्लीमा निर्माण सम्पन्न ५० शैयाको सुविधा सम्पन्न अस्पताल रौता कुवर जेभी निर्माण कम्पनीले १० करोड १० लाख रुपैयाँमा निर्माण गरेको हो ।