बाँकी जिवन विकास र समृद्धिमा खर्चिने छु -अध्यक्ष दाहाल

सन्तोष राउत/सोलुखुम्बु । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो बाँकी जिवन नेपाली जनताको समृद्धि र मुलुकको विकासमा खर्चिने बताउनुभयो । आफुले क्रान्ति र शान्ति दुवैको नेतृत्व गरेर विश्वमै ईतिहास कायम गरेको भन्दै अब विकास र समृद्धिमा लाग्ने उहाँको प्रतिबद्धता छ ।

सोलुखुम्बुको थुलुङदूधकोशी गाउँपालिकाको केन्द्र मुक्लीमा ५० शैयाको सामूदायिक अस्पताल, गाउँपालिकाको प्रशासनिक भवन र बहुप्राविधिक शिक्षालय भवनको संयुक्त उद्घाटनका क्रममा प्रमुख अतिथि अध्यक्ष दाहालले संविधान कार्यान्वयनकै चरणमा रहेकाले जनतालाई अधिकार सम्पन्न बनाउन तल्लो तहलाई अझ अधिकार दिनुपर्ने धारणा राख्नुभयो ।

‘मैले गठबन्धनभित्र पनि जनतालाई अधिकार प्रदान गर्न छलफल गर्ने गरेको छु, संघीय निजामति ऐन र सुरक्षा ऐनहरु बनाउन बाँकी छन्, अब यी अभिभारा पूरा गर्छु, उहाँले भन्नुभयो । फेरी एक पटक देशको कार्यकारी प्रमुख हुने संकेत गर्दै उहाँले भन्नुभयो, ‘जनयुद्ध र शान्ति प्रक्रिया मेरै नेतृत्वमा सम्पन्न भयो, अब देशको विकास र सम्बृद्धिको एक पटक नेतृत्व गर्ने उत्कट चाहना छ ।

दूधकोशी सामुदायीक अस्पताल १५ करोड रुपियाँ, बहुप्राविधिक शिक्षालय पाँच करोड रुपियाँ र गाउँपालिकाको प्रशासनिक भवन पौने सात करोड रुपियाँको लागतमा निर्माण सम्पन्न भएको गाउँपालिका अध्यक्ष असिम राईले बताउनुभयो ।

अघिल्लो कार्यकालबाट नै आफू समृद्ध थुलुङदूधकोशी गाउँपालिका निर्माणमा लागिरहेको भन्दै उहाँले यस अभियानमा जनताको साथ रहेको बताउनुभयो ।

सुविधा सम्पन्न अस्पताल जनताबाट चन्दा उठाएर बनाएको भन्दै अध्यक्ष राईले महायज्ञ लगाएर जनताको एकताको बलले करोडौँको अस्पताल बनाउन सफल भएको बताउनुभयो । पछिल्लो समय आस्था, जाति र लिंगको आधारमा विभक्त भएको समाजमा यी सबै कुराको एकताका कारण मात्रै भौतिक संरचना निर्माण सम्पन्न भएको अध्यक्ष राईको भनाइ छ ।

कार्यक्रममा सोलुखुम्बुका निवर्तमान प्रतिनिधिसभा सदस्य हेमकुमार राई, प्रदेश १ का आर्थिक मामिला मन्त्री ईन्द्र आङ्बो, प्रदेश १ मा पूर्व राज्यमन्त्री उत्तम बस्नेत, स्थानीय सरकारका प्रमुख खिलाराज बस्नेत, सुर्यबहादुर कुलुङलगायतयको सहभागिता थियो । सो अवसरमा पालिकालाई २५ रोपनी निःशुल्क जग्गा दिने स्थानीय समाजसेवी बलराम गुरुङ लगायतलाई सम्मान गरिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार