सन्तोष राउत/सोलुखुम्बु। सोलुदूधकुण्ड नगरपालिका–५ की ल्हेमी शेर्पाले ले सम्मानित भएपछि खुशी हुँदै भन्नुभयो, गाउँमा रहेर स्थानीयको स्वास्थ्य सेवमा गरेको योगदानको कदर हुँदा हर्ष लागेको छ, यो सम्मानले अझै जिम्मेवार भएर जनताको सेवामा लाग्न प्रेरित गरेको छ । १९ औँ राष्ट्रिय महिला सामूदायिक स्वास्थ्य स्वयम्सेविका दिवसको अवसरमा उहाँसँगै सोलुदूधकुण्ड नगरपालिकाभित्रका नौ जना महिला स्वास्थ्य स्वयमसेविकाहरु नगद सहित सम्मानित भएपछि खुशी हुनुभएको हो ।
नगरपालिकाको स्वास्थ्य शाखाले एक कार्यक्रमको आयोजना गरी नगरपालिकाभित्रका साविक नौ वटै गाविसका एक÷एक जना उत्कृष्ट स्वयमसेविकालाई नगद छ हजार रुपियाँसहित सम्मान–पत्रद्वारा सम्मानित गरेको नगरपालिकाका स्वास्थ्य संयोजक चमर मगरले जानकारी दिनुभयो ।
सम्मानित हुनेहरुमा वडा नम्बर १ बाट मिना राई, २ बाट सुनिता मगर, ३ बाट कमली मगर, ५ बाट ल्हेमी शेर्पा, ७ बाट पेम्बा दिकी शेर्पा, ८ बाट, दावासाङ्मु तामाङ, ९ बाट लेमी शेर्पा, १० बाट तुलसा कटुवाल र ११ बाट सङ्गीता कार्की रहनुभएको छ ।
वडाका स्वास्थ्य चौकी व्यवस्थापन समितिबाट सिफारिस भएका उहाँहरुलाई नगर प्रमुख नाम्गेलजाङबु शेर्पा, उपप्रमुख गान्धीमाया तामाङ र प्रमुख प्रसाशकिय अधिकृत कोपिला राईले संयुक्त रुपमा नगद र सम्मान–पत्रले सम्मान गर्नुभएको छ ।
यसअवसरमा नगरप्रमुख शेर्पाले महिला सामूदायिक स्वास्थ्य स्वयम्सेविकाहरुको ूुमिकाको प्रसंशा गर्दै विभिन्न चुनौतीका बावजुत काम गरिरहेको बताउनुभयो । स्वास्थ्य सेवामा महिला स्वयम्सेविकाहरुको भूमिकालाई नजिकबाट नियालिरहेकाले प्रोत्साहनका लागि नगरपालिकाले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
यसै क्रममा सुर्तिजन्य पदार्थ सेवनको न्यूनिकरण सम्बन्धी सचेतना कार्यक्रम पनि गरिएको छ । कार्यक्रममा धुम्रपानका असर, यसको प्रयोग नगर्दा हुने फाइदा तथा यसबाट छुटकारा पाउने तरिकाका बारेमा सचेत गराइएको नगुपालिकाका जनस्वास्थ्य निरीक्षक सुवास तामाङले जानकारी दिनुभयो ।