पहिलो पटक डिजिटल प्रविधिबाट वडामै एकिकृत योजना सम्झौता र बैङ्क खाता सञ्चालन


सोलुखुम्बु । सोलुदूधकुण्ड नगरपालिकाले वडा नम्बर ७ गार्मामा पहिलो पटक डिजिटल प्रविधि मार्फत वडामै एकै स्थानमा नगर तथा वडास्तरीय सबै योजना सम्झौता, बैङ्क खाता सञ्चालन तथा अनुशिक्षण गरेको छ ।

वडा कार्यालयको आयोजनामा एक करोड आठ लाख ५० हजार रुपियाँ लागतका १४ वटा योजनाको एकै साथ सम्झौता गर्दै बैङ्क खाता सञ्चालन तथा उपभोक्ता समितिका पदाधिकारीहरुलाई अनुशिक्षण समेत गरिएको हो ।

यसै क्रममा माछापुच्छ्रे बैङ्कका कर्मचारीको उपस्थितीमा योजना खाता समेत सञ्चालन गरिएको वडा अध्यक्ष सोनामग्याल्जेन शेर्पाले जानकारी दिनुभयो । सम्झौता गरिएका योजनाहरुमा आठ वटा नगरस्तरीय र छ वटा वडास्तरीय योजना रहेका छन् ।

योजना सम्झौता तथा बैङ्क खाता खोल्ने लगायतका कार्यका लागि पटक पटक नगरपालिकाको कार्यालयसम्म धाउनुपर्ने बाध्यताको अन्त्य गर्न एकिकृत कार्यक्रम आयोजना गरिएको अध्यक्ष शेर्पाको भनाइ छ ।

जनताको सहज सेवा तथा विकास निर्माणका लागि गरिएको स्थानीय सरकारको परिकल्पनाअनुसार आफू नेतृत्वको नगरपालिका लागिपरेको बताउँदै नगरप्रमुख नाम्गेलजाङ्बु शेर्पाले नगरपालिकाले विगतका दिनदेखि नै जनताको सहजताका लागि सम्बन्धित स्थानमा पुगेर सेवा प्रदान गरिरहेको बताउनुभयो ।

प्रमुख प्रशासकीय अधिकृत कोपिला राईले नगरपालिकाले प्रवाह गर्ने सेवा तथा विकासका काम सहज तरिकाले गर्नु नगरको उद्देश्य रहेको भन्दै समयमा गुणस्तरीय काम गर्न आग्रह गर्नुभयो ।

गाउँमै योजना सम्झौता गर्न पाउँदा उपभोक्ता समितिमा रहेका स्थानीयहरु खुशी भएका छन् । पहिलो पटक वडामै नगरपालिकाको टोली आएर योजना सम्झौता तथा बैङ्क खाता सञ्चालन गर्न पाउँदा समय र खर्चका हिसाबले निकै सहज भएको र कुनै कागजपत्र नपुगेर पटक पटक नगरपालिका धाउनुपर्ने बाध्यता हटेकोे स्थानीय बताउँछन् । योजना अधिकृत रामकुमार खड्काको नेतृत्वमा इन्जिनियर फूर्वा शेर्पा, कम्पूटर अपरेटर सन्तोष आचार्यलगायतले सहजीकरण गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार