नेलेका अग्नी पीडितलाई नगरप्रमुख शेर्पाद्वारा पौने पाँच लाख सहयोग हस्तान्तरण

सोलुखुम्बु। सोलुखुम्बुको थृुलुङ दूधकोशी गाउँपालिका–१ नेलेका अग्नी पीडितलाई सोलुदूधकुण्ड नगरपालिकाका नगरप्रमुख नाम्गेलजाङबु शेर्पाले पौने पाँच लाख भन्दा बढी नगद सहयोग हस्तान्तरण गर्नुभएको छ ।

नगरप्रमुख शेर्पाकोे पहलमा नगरपालिकासहित विभिन्न व्यक्तिहरुबाट सङ्कलित चार लाख ८९ हजार १५० रुपियाँ रकम अग्नी पीडित सहयोग समितिलाई आगलागी स्थलमै पुगेर हस्तान्तरण गनर््भएको हो ।

सङ्कलित सहयोग रकममा एन.आर.एन. न्यूयोर्क अमेरिका च्याप्टरका अध्यक्ष आङछिरिङ शेर्पाले सङ्कलन गरि पठाएको दुई लाख ८९ हजार १५० रुपियाँ, सोलुदूधकुण्ड नगरपालिकाबाट एक लाख ५० हजार रुपियाँ र मेयर शेर्पाको व्यक्तिगत ५० हजार रुपियाँ रहेको वडाध्यक्ष एवम् अग्नी पीडित सहयोग सङ्कलन समितिका अध्यक्ष घनराज सुनुवारले जानकारी दिनुभयो ।

मेयर शेर्पासहितको टोलीले घटनास्थलमै पुगेर हस्तान्तरण गरिएको रकम अग्नी पीडित सहयोग समितिको संयुक्त खातामा जम्मा गरिएको छ । नेलेका अग्नी पीडितको राहतका लागि आफू सुरुदेखि नै खटिरहेको र आगामी दिनमा पनि सहयोग सङ्कलनका लागि सक्दो पहल गर्ने मेयर शेर्पाले प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

यही पुस ५ गते मङ्गलबार दिउँसो करिब ४ बजे वडा नम्बर १ को साप्ताहिक हाट नेले बजारमा भएको आगलागीमा चार घर पूर्ण रुपमा नष्ट भएका थिए । उक्त घटनामा कल्पना बस्नेत, रमेश बस्नेत, वुद्विबहादुर कार्की र गणेश बस्नेतको घर पूर्ण रुपमा जलेर क्षति भएको थियो भने प्रणय राईको घरमा आंशिक क्षति भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार