सोलुखुम्बु । सोलुखुम्बुको व्यस्त पर्यटकीय क्षेत्रमा रहेको तेन्जिङ हिल्लारी विमानस्थल लुक्लामा एक वर्षभित्र एक लाख भन्दा बढी यात्रुले हवाई सेवा लिएका छन् । सन् २०२२ को जनवरीदेखि डिसेम्बरसम्म एक लाख एक हजार ५०१ जनाले हवाई सेवा लिएको नेपाल नागरिक उड्ययन कार्यालय लुक्लाले जनाएको छ ।
यस अवधिमा ४१ हजार ११८ जना भित्रिएका हुन् भने ६० हजार ३८३ जना बाहिरिएको नेपाल नागरिक उड्ययन कार्यालय लुक्लाका प्रमुख महेश श्रेष्ठले जानकारी दिनुभयो । यस अवधिमा १३ हजार ८४५ पटक उडान तथा अवतरण भएको कार्यालयको तथ्याङ्क छ ।
यसमध्ये अधिकाँस उडान तथा अवतरण विभिन्न एयरलाइन्सका हवाईजहाजले गरेका हुन् भने केही मात्रामा हेलिकप्टरले गरेको प्रमुख श्रेष्ठले बताउनुभयो । त्यस्तै, लुक्लाबाट एक वर्षभित्र आठ लाख ८९ हजार ४२९ केजी कार्गो सामान रामेछापको मन्थली र काठमाण्डौँ ढुवानी गरिएको छ भने सात लाख २६ हजार ३२१ केजी कार्गो लुक्ला ल्याइएको छ ।
खाद्यान्न, तरकारी, निर्माण सामाग्री, पर्यटकहरुको क्याम्पीङ सामाग्री, कपडा लगायतका कार्गो सामाग्री ढुवानी गरिएको हो । सिजनमा त्रिभुवन विमानस्थलपछिको व्यस्त विमानस्थलका रुपमा यस विमानस्थललाई लिइन्छ । सगरमाथा क्षेत्रको भ्रमणका लागि आउने विदेशी तथा स्वदेशी पर्यटकका कारण वर्षको दुई सिजन यो विमानस्थल व्यस्त हुने गर्दछ ।
रोमाञ्चक अनुभूति दिने विश्वभरका विमानस्थलमध्ये आठौँ स्थानमा लुक्ला पर्छ । यो विमानस्थल प्रथम सगरमाथा आरोही सर एडमन्ड हिलारीको सहयोगमा सन् १९६० मा निर्माण भएको हो । बि.स. २०६४ पुसमा एडमण्ड हिलारी र तेन्जिङनोर्गे शेर्पाको सम्मानमा तेन्जिङ हिलारी विमानस्थल नामाकरण गरिएको हो ।