गाउँ शिक्षा योजना बनाउदै थुलुङ दूधकोशी

सोलुखुम्बु । सोलुखुम्बुको थुलुङ दूधकोशी गाउँपालिकाले शैक्षिक गुणस्तर वृद्धिका लागि गाउँ शिक्षा योजना निर्माण गर्ने भएको छ । मङ्गलबार शिक्षा समितिका अध्यक्ष तथा गाउँपालिका अध्यक्ष असिम राईको अध्यक्षतामा बसेको बैठकले उक्त योजना निर्माण गर्ने निर्णय गरेको हो ।

शैक्षिक गुणस्तर वृद्धिका लागि दीर्घकालीन योजना आवश्यक भएकाले थप विषयवस्तुको अध्ययन गर्नुपर्ने पालिका अध्यक्ष असिम राईले बताउनुभयो । अध्ययनपछि प्राप्त प्रतिवेदनअनुसार कार्यतालिका निर्माण गरि कार्यान्वयन गरिने उहाँको भनाइ छ ।

त्यस्तै, स्थानीय पाठ्यक्रम निर्माणको अध्ययन गर्नका लागि सामाजिक विकास समिति संयोजक बुद्धिराज राईको संयोजकत्वमा एक अध्ययन समिति गठन गरिएको पालिकाले जनाएको छ ।

समितिलाई कक्षा थप गर्ने अनुमति, विद्यालय गाभ्ने र शिक्षक दरबन्दी मिलान लगायतका विषयमा समेत १५ दिनभित्र प्रतिवेदन तयार गरेर पालिकामा पेश गर्न निर्देशन दिइएको जनाइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार