नगरपालिकाको अगुवाइमा कारागारदेखि गुम्बासम्म सरसफाई

 

सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका-५ क्षेत्रको जिल्ला कारागारदेखि थेक्छेन पेमा छोलिङ गुम्बा परिसरसम्म सरसफाई गरिएको छ । माथिल्लो सल्लेरी गुम्वा टोल सुधार समितिले समुदाय फोहोर बढ्न थालेपछि बिहीबार नगरपालिकाका वातावरण संयोजक मुना खत्रीको नेतृत्वमा सरसफाई गरिएको हो ।

आफ्नो गाउँटोल आफै सफा गरौं भन्ने धारणाका साथ मानिसको आवतजावत हुने स्थान कारागार परिसरदेखि धार्मिकस्थल गुम्बासम्म सरसफाई गरिएको वातावरण संयोजक मुना खत्रीले जानकारी दिनुभयो । लामो समयदेखि सो क्षेत्रको सरसफाई नहुँदा दुर्गन्ध समेत फैलन थालेको थियो ।

स्थानीय सजिना तामाङले वातावरण सरसफाई गर्न स्थानीय आफै जागरुक हुनुपर्नेमा नगरपालिकाले टोल सुधार समिति गठन गरि यो काम सुरु गरेकोमा खुसी व्यक्त गर्नुभयो। सोलुदुधकुण्ड नगरपालिकाभित्र ४५ वटा टोल सुधार समिती गठन गरिएको छ । सदरमुकाम सल्लेरी क्षेत्रमा मात्रै १५ वटा टोल सुधार समिति छन् । कतिपय स्थानमा टोल सुधार समिति सक्रिय छन् भने कतिपय स्थानमा गठन भएपश्चात निस्क्रिय रहेका छन् ।

सरसफाई कार्यक्रममा स्थानीय, नगरका प्रतिनिधि, नेपाल प्रहरी र नगर प्रहरीलगायतको सहभागिता रहेको थियो।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार