सोलुखुम्बु । सोलुदुधकुण्ड नगरपालिकाको आयोजना तथा रीड नेपालको प्राविधिक सहयोग तथा सहकार्यमा आजबाट तीन दिने नगरपालिकाको शिक्षा योजना निर्माण कार्याशाला गोष्ठी सल्लेरीमा सुरु भएको छ।
कार्यक्रमको उद्घाटनका क्रममा बोल्दै सोलुदूधकुण्ड नगरपालिकाका उपमेयर गान्धीमाया तामाङले शिक्षा महत्त्वपूर्ण भएकोले यो योजना निर्माणले सोलुदुधकुण्डको शैक्षिक गुणस्तरमा सुधार हुने विश्वास व्यक्त गर्नु भयो। उहाँले योजना निर्माण नगरपालिकाको नै दायित्त्व भए पनि रीड नेपालको प्राविधिक तथा आर्थिक सहयोग सहितको सक्रियतामा गोष्ठीको आयोजना गरेकोमा रीड नेपाललाई धन्यवाद व्यक्त गर्नुभयो।
सोही अवसरमा बोल्दै शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख खगेन्द्र श्रेष्ठले स्थानीय तहमा शिक्षाको योजना अतिआवश्यक भएकाले अब बन्ने योजनाले शैक्षिक सुधार हुने विश्वास व्यक्त गर्नुभयो। कार्यक्रमको उद्देश्य माथि प्रकाश पार्दै रीड नेपालका शिक्षा विकास संयोजक केशवदेव गिरीले कार्यशालाको मुख्य उद्देश्य नगरपालिकाको शिक्षाको वास्तविक अवस्था विश्लेषण गर्दै शिक्षामा रहेका सकारात्मक पक्ष सुधार गर्नुपर्ने पक्ष, अवसर र चुनौतीको विश्लेषण गर्दै वास्तविक अवस्था पत्ता लगाई पाँच वर्षभित्र शिक्षालाई कहाँ पुर्याउने भन्ने निष्कर्ष निकाल्नु रहेको बताउनुभयो।
कार्यक्रमको सहजीकरण विषय विज्ञ निरा शाक्य र डिल्लीप्रसाद डोटेलले गरिरहनुभएको छ। कार्यशालामा योजना निर्माण अवधारणा, प्रक्रिया, चरण र वर्तमान शिक्षाको अवस्था विश्लेषण गरिएको छ ।
कार्यशालामा नगर उपप्रमुख वडा अध्यक्षहरू, शिक्षा समितिका सदस्यहरु, विभिन्न विद्यालयका प्रधानाध्यापकहरू तथा शिक्षाप्रेमी विव्यस अध्यक्षहरु, नगरपालिकाका शाखा प्रमुखहरुसहित विभिन्न क्षेत्रबाट ५० जनाको सहभागिता रहेको छ।