नेपाल शिक्षक संघ सोलुखुम्बुको अध्यक्षमा राई

सन्तोष राउत/सोलुखुम्बु । नेपाल शिक्षक संघ सोलुखुम्बुको अध्यक्षमा मदन राई भारी मतका साथ विजयी हुनुभएको छ । सल्लेरीमा सम्पन्न ९ औँ जिल्ला अधिवेशनको निर्वाचनबाट २८४ मतका साथ राई विजयी हुनुभएको हो ।

उहाँका प्रतिस्पर्धी महाप्रसाद फूयालले १८१ मत प्राप्त गर्नुभएको थियो । शनिबार राती सकिएको निर्वाचनको अन्तिम मत परिणाम अनुसार उपाध्यक्षमा मदनकै प्यानलका राधादेवी बस्ने  निर्वाचित हुनुभएको छ । राधादेवीले २७७ मत प्राप्त गर्दा निकटतम प्रतिस्पर्धी सीता कुमारी आचार्यले १७३ मत प्राप्त गर्नुभएको थियो।

सचिवमा भने महाप्रसाद फूयाल प्यानलका प्रकाश राई विजयी हुनुभएको छ । उहाँ २४१ मतका साथ विजयी हुँदा निकटतम प्रतिस्पर्धी उत्तरकुमार राईले २०४ मत प्राप्त गरेको नेपाल शिक्षक संघले जनाएको छ । खुला उपाध्यक्षमा राजु दुलाल र अर्थ सचिवमा रेमन्तकुमार बस्नेत निर्वाचित भएका छन्। सहसचिवहरू तथा सदस्यहरु सबै निर्विरोध विजयी भएको बताइएको छ ।

अधिवेशनले १८ सदस्य जिल्ला कार्यसमिति चयन गरेको छ । शिक्षक संघ सोलुका ७०२ जना सदस्य मध्ये ४६७ जनाले मतदान गरेका थिए । सर्वसम्मत नेतृत्व चयनको प्रयास गरिएपनि सहमति हुन नसक्दा अन्ततः निर्वाचन प्रकृयामा होमिएको थियो ।

नयाँ कार्यसमितिको कार्यकाल ४ वर्षको हुने शिक्षक संघले जनाएको छ । अधिवेशनको शुक्रबार सल्लेरीमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पुर्व मन्त्री बल बहादुर केसीले उद्घाटन गर्नुभएको थियो।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार