वर्गभित्र मजदुरमाथिको शोषण

प्रकाश भट्टराई खत्री सोलुखुम्बु

समान्यतया मजदुर शब्द निकै शक्तिशाली र ‘हेभीवेट’ शब्द हो । मजदुरको न कुनै सीमाना छ न कुनै आफ्नो स्वतन्त्र देश नै । मजदुर सबैका साझा शक्ति हुन भने विकास निर्माणका गतिला आधारशिला पनि । जुन देशमा मजदुरहरुको श्रममाथि सम्मान र इज्जत गरिन्छ त्यहा हरेक वर्ग बिचमा समानता, एकता, मेलमिलाप र सद्भाव सहितको उदारवादी सोचको विकास हुन्छ ।

हाम्रो दृष्टिकोणमा मजदुर वर्गलाइ सामान्य रुपमा हेर्ने गरिन्छ । मजदुरसँग भएको एकता र शक्तिको आडमा विश्वमा निकै प्रभावशाली क्रान्तीहरुमा योगदान पनि रहेको पाइन्छ । झट्ट सुन्दा बेलायतमा भएको ८० वर्षे लामोे औधोगिक क्रान्तीबाट घरेलु उधोगधन्दाहरुलाई विस्थापित गर्दै बृहत आधुनिक उद्योगहरुको स्थापनार्थ भएको क्रान्तीमा मजदुर वर्गहरुले निकै साहशीपुर्ण आन्दोलनबाट क्रान्तीको सुरुवात गरेका थिए । त्यो ८० वर्षे ओधोगिक क्रान्तीबाट मुलत वेलायतमा पनि पुँजीपतिवर्ग र मजदुर वर्गबिच बिभिन्न बिचारमा असमानता उब्जिदैँ समाजमा दुई खाले वर्गको स्थापना भएको पाईन्छ ।

जब वर्ग वर्ग बिचमा असमानता, बिरोधहरु सिर्जना हुन थाले त्यहीँबाट वर्गीय दुश्मनता उब्जिन सुरु भयो । जर्मनमा जन्म लिएका साधारण व्यक्ति जो काक्र्ल माक्स आफ्नै देशमा केही गर्छु भन्ने हुटहुटी हुँदाहुँदै पनि उनका विरुद्ध राज्यपक्ष नै खनियो, उनी पुँजीवादका बिरोधी थिए, पुँजीवादलाई परास्त पार्दै आधुनिक र विकसित साम्यवादको परिकल्पना गर्दै बिभिन्न देशहरुमा लुकीछिपी आफ्ना बिचार र दर्शनहरुलाई निरन्तरता दिदै गइरहे । जब उनले आफ्नो जीवन सधै गरिबी र असमानतामै बिताए पनि उनका प्रतिपादित सिद्धान्तहरु भने निकै शक्तिmशाली रहेका थिए । जब उनी जर्मनमा आफ्नो बाल्यकाल बिताउँदै गर्दा उनले जिविकोपार्जनका लागि गरिएको नोकरीका मालिकसँगको मतभेदका कारण उनले जर्मन छाडे, उनले जर्मन सरकार विरुद्धमा कडा रुपमा जुन लेख लेखे झन् उनलाई राज्य सत्ताबाट लखेटिदै अन्नततः बेलायतमा गएर जिविकोपार्जन गर्ने थाले, जुन निकै पीडादायक र गरिब जीवन निर्वाह गर्नुृपर्ने भयो र उनले त्यहाँबाटनै साम्यवादको सपना देख्न थाले । साम्यवादभित्र पनि उनले पहिले पुँजीपति र मजदुर वर्गको अध्ययन र विश्लेषण गरे कि समाजमा कसरी समानता ल्याउने ? त्यहीबिच द्वन्द्वात्मक भैतिकवाद, माक्र्स र ऐतिहासिक भौतिकवाद हँुदै बृहत अध्ययनको शिलशिला वर्ग सङ्घर्षमा केन्द्रित गर्दै वास्तविक समाजमा के हो ? पुँजीवादी समाज र मजदुरहरुको समाज भनेर अध्ययन र विश्लेषण गर्दा निकै अन्तरको समाज देखेपछि वर्गभित्र पनि कसरी पुँजीपतिहरुबाट मजदुर वर्ग कसरी दास र शोषित छन् भन्ने कुरा प्रष्ट पारेका छन् ।

माक्र्सका विश्लेषण र बिचारहरुमा हाम्रो समाजमा किन, कसरी, कोबाट श्रमिकवर्ग(मजदुर) शोषित भईरहेका छन त ? प्रश्न जटिल र सोचनीय रहेको छ । माक्र्संले आफ्नो दर्शन माक्र्स र ऐहिासिक भौतिकवाद, अतिरिक्त मूल्यको सिद्धान्त हुँदै वर्ग सङ्घर्षमा आइपुग्दा मावन समाजलाई इतिहासदेखि हालसम्मको समाज दुई वर्गमा बिभाजन हँुदै आएको पाए । पहिलो शासक वर्ग हो भने दोस्रो शोषित वर्ग । शासक वर्गमा पुँजीपति वर्गलाई माने भने शोषित वर्गमा मजदुरलाई राखेका छन्, यहाँ हामीले देख्ने वास्तविकता पनि यस्तै नै छ । समाजमा जतिसुकै क्रान्तिकारी परिवर्तनका हुंकार नाराबाजी, विरोध गरे पनि स्थायी रुपमा झन् विकसित रुपबाट समाजमा वर्गीय चाप बढेको पाइन्छ ।
समाजमा दुई वर्ग पुँजीपति वर्ग र मजदुर वर्गबीचमा एउटासंग पर्याप्त साधन र स्रोत हुन्छ भने अर्कोसंग न साधन न स्रोत, केवल श्रम मात्र रहेको हुन्छ । साधन र स्रोत हुनेले सँधै मजदुरको श्रममाथि निर्मम शोषण गरिरहन्छन् र यी दुइ वर्ग बिचमा परस्पर निरन्तर संघर्ष चलिरहन्छ । जति पनि विश्लेषणमा माक्र्सले सम्पूर्ण मावन जातीको वर्तमानसम्मको इतिहासलाई वर्ग संङ्घर्सकै रुपमा चित्रित गरेका छन् ।

हामीले हाम्रो समाज वरिपरि हेर्ने हो भने पनि समाजमा कुलिन वर्ग, किसान वर्ग, सामन्त वर्ग, सर्वसाधारण वर्गहरु नजानिँदो तरिकाले कहिले खुलेर त कहिले लुकेर निरन्तर वर्गबिचको असमानता र असमझदारी बिचमा युद्ध गरिरहेको पाइन्छ । यस्तो वर्गको समाप्ती भनेको समग्रमा कुलिन वर्गमाथि मजदुर वर्गले जहिले विजय प्राप्ती गर्दछ ,त्यो दिन मात्र समाजमा साम्यवादको ढोका खुल्ने देखिन्छ ।

वास्तवमा श्रमिकको श्रम मुलतः कुलिनहरुबाटनै शोषण भएको पाइन्छ । श्रमिकको शोषणबारेमा कार्ल माक्र्सले दास क्यापिटलमा केही धारणा राखेको पाइन्छ । जहाँ माक्र्सले अतिरिक्त मूल्यको सिद्धान्तलाई आधार मानेर कसरी पुँजीपतिबाट हुने श्रमिकको शोषणको नौलो स्वरुप स्थापित हुन्छ भनेर प्रष्ट पार्न खोजिएको छ । जहाँ मजदुरले आफ्नो श्रमबाट धन उत्पादन गर्दछ अनि त्यो धन सिधै पुँजीपतिहरुको कब्जाभित्र पर्दछ अनि पुँजीपतिले पुरै नाफा गर्दछ । मजदुरहरुसंग कलकारखाना स्थापना गर्ने सक्ने पर्याप्त पुँजी हुदैन तसर्थ मजदुर आफैँ पुँजीपतिको कारखानामा काम गर्छन, श्रम बिक्री गर्दछन र बस्तुको उत्पादन गर्छन् । पुँजीपतिले ती बस्तु तथा सामान मंहगो मूल्यमा बिक्री गर्दछन् त्यसबाट बढी फाइदा स्वयम्ले लिई कम मात्रामा पारिश्रमिक मजदुरवर्गलाई दिइन्छ । यहाँ मास्र्कले के भनेका छन् भने जुन उत्पादित बस्तु उत्पादन गरेर बिक्री गरेर नाफा हन्छ त्यो नै अतिरिक्त मूल्य हो भनेका छन् । माक्र्सका अनुसार यो अतिरिक्त मूल्यको हकदार पुँजीपति होइन मजदुर हुनुपर्दछ किनकी धन उत्पादनमा मजदुरको प्रमुख भूमिका रहन्छ । मजदुरले श्रम खर्चेको हुन्छ । तसर्थ मूल्य निर्धारणमा श्रमलाई प्राथामिकतामा राखेर मूल्य निर्धारण गर्दा श्रमिक वर्गमा राहत हुने देखिन्छ । जँहा वस्तु उत्पादनमा श्रमिकको भुमिका प्रधान हुन्छ त्यहाँ उत्पादनमा लागेको श्रमअनुसारको पारिश्रमिक श्रमवर्गले पाउनुपर्दछ । तर यो असम्भव जस्तै छ । यहाँ माक्र्सले अतिरिक्त मूल्यको सिद्धान्तमा श्रम शोषणलाई प्राथामिकतामा राख्दै भनेका छन कि उत्पादित बस्तु बजारमा लगेर मंहगोमा बिक्री गर्दा जुन फाइदा देखिन्छ त्यहाँ श्रमिकवर्गलाई न्युनतम पारिश्रमिकमा काम लगाइन्छ र ठाडो श्रमिकको शोषण देखिन्छ । जुन शोषणले गर्दा विश्वमा विभिन्न वर्ग वर्ग बिचमा एउटा छुटै वर्गको स्थापना हुन्छ ।

माक्र्सका बिचार, दर्शनमाथि अध्ययन गर्ने हो भने आदिम युग, दास युग, सामन्ती युग र पुँजीवादी युगमाथि विभिन्न धारणाहरु राखेको पाइन्छ । एक वर्ग र अर्का वर्ग बिचमा भएका असमानताहरु, विभेद र शोषणहरुबाट नै वर्गीय दुश्मन बढेको देखिन्छ । यहाँ आदिम युगमा हेर्दा घुमन्तेहरु मात्र पाइन्छ, व्याक्तिगत सम्पत्ति भन्ने कसैको पनि थिएन । कुनै पनि वर्ग र राज्यको प्रारम्भ थिएन सबै समान थिए अनि साम्यवादी पनि थिए ।

जब सबै समान थिए समानता थियो, हुँदै गर्दा सभ्यताको विकासक्रमको अवधारण आयो सबैले खेतीपाती र पशुपालनबाट जीविका निर्वाह गर्नेतिर लागे त्यहाँबाट आ–आफ्नो भू–स्वामित्व र पशुमा स्वामित्व बढ्न थाल्यो । स्वामित्व बढी हुने र कम हुने बिचमा वर्गीय दुश्मनता बढन थाल्यो । बढी स्वामित्व हुनेहरुलाई मालिक र कम हुनेलाई दासको रुपमा चित्रण गर्ने थालियो र मालिक र दास बिचमा फेरी युद्धको सुरुवात हुन थाल्यो । समाजमा मालिक वर्गले दास वर्गलाई मजदुर वर्गको सज्ञा दिन थालियो जहाँ मजदुर वर्ग दिनानुदिन शोषित हुन थाले । क्रमिक रुपमा दास युगबाट शोषित वर्ग(मजदुर वर्ग) आफ्नो मुक्तिका लागि आन्दोलित हुन पुगे जसबाट पनि स्वामत्वि बढी र कमीले गर्दा पनि मजदुर र मालिक वर्गको स्थापना भई मजदुरवर्ग सँधै न्याय खोजिरहन बाध्य भए ।

दास विद्रोहको समाप्ती पश्चात फेरी सामन्तीहरुको उद्धयले गर्दा मजदुर वर्गले कहिल्यै आराम पाएन । मालिक वर्ग र दास वर्गको विद्रोहको कारणले उव्जिएको सामन्ती युग झनै विकसित रुपबाट समाजमा आयो । जसरी मालिक फेरी सामन्ती बन्न थाले अनी दासहरुले सामन्तीहरुको सेवा गर्न थाले । सामन्त युगको बिकासपछि सामन्तहरुले फेरी कृषक वर्गलाई शोषणको सुरुवात गर्न थाले । कम ज्यालामा कार्य लगाई निरन्तर श्रमको शोषण गर्ने थालेपछि सामन्त वर्ग र किसानवर्ग विचमा समाजको बिभाजन भयो । सामन्तबादको हरेक क्षेत्रमा दबदवा यानकी एकाधिकार रहन थाल्यो । यसैको फलस्वरुप सामन्त र मजदुर(किसान) बीचमा अर्का युद्धको सुरुवात हुन थाल्यो ।

समग्रमा माक्सले विश्व घटनामाथि रहेर वर्गहरु बिचमा भएको अन्तरको व्याख्यान गरेका छन् । हामी हाम्रो परिवेशमा रहेर वर्तमान नेपाली समाजमा पनि वर्ग विश्लेषण गर्ने हो भने विभिन्न कोणहरुबाट वर्ग सङघर्स भइरहेको पाइन्छ । नेपालका दुर्गम गाउँमा रहेका वर्गहरु र शहरमा रहेका वर्गबिचमा पनि कसरी वर्गीय शोषण हुन्छ त ? नेपालको दुर्गम क्षेत्रमा रहेका वर्गहरु हेर्दा दलाल तथा नोकरशाही पुँजीपति वर्ग, धनी किसानलाई मध्यम वर्ग, मध्यम किसान निम्न मध्यम वर्ग, गरिब किसान वर्ग, भूमिहीन किसान वर्ग, सर्वहारा वर्ग, कृषि मजदुरी वर्ग आदी पर्दछन भने शहरमा देखिएका वर्गहरु हेर्दा दलाल तथा नोकरशाही पुँजीपति वर्ग, राष्ट्रिय पुँजीपति वर्ग, मध्यम वर्ग, शहरीया मध्यम वर्ग, मजदुर वा सर्वहारा वर्ग पर्दछन् । यहाँ माथिल्लो वर्गले तल्लो निम्नस्तरको वर्गमाथि निरन्तर कुनै न कुनै तवरले शोषण गरिरहेका हुन्छन ।

नेपालको परिप्रेक्ष्यमा हेर्ने हो भने मजदुरमाथि न कुनै सम्मान छ न त मजदुरभित्र कुनै सम्भावना नै छ । नेपाली मजदुरहरुमाथि शोषण गर्दै श्रमशिल जनशक्ति र प्रतिभालाई कसरी पलायन हुन बाध्य पारिन्छ यसको विषयमा पनि केही चर्चा गरौँ । जब नेपालमा पुँजीपति वर्गको हाबी हुन थाल्यो तब नेपालमा पुँजी र प्रविधिको विकासमा अबरोध गर्ने थाल्यो, उधोगधन्दाको विकास ठप्प पारियो, भएका उधोगधन्दाहरुलाई धरायसी बनाइयो, बजारमाथि एकाधिकार र सिण्डीकेट सिर्जना गर्ने थालियो, लगानीलाई अनुत्पादक क्षेत्रमा प्रयोग गर्न थालियो, कृषि क्षेत्रमा लगानी प्रवाह गर्ने वातावरण बन्न दिइएन, कृषिलाई उधम र उधोगसंग जोडन दिइएन, राज्यलाई भष्ट्राचारको अखडा बनाइयो, सरकारी वजेटको पुँजीगत खर्चलाई प्रवाह गर्न नदिने, नँया तथा आवधिक आयोजनाहरुलाई प्रभावित पार्ने, शुरु भएका आयोजनाहरुमा पनि भागबण्डाले कार्य सम्पादनमा समस्या उत्पन्न हुने, जातीय तथा साम्प्रदायिकता सद्भाव खल्बल्याउने, देशको स्वाभिमान, सार्वभैमिकता र क्षेत्रीय अखण्डतालाई कमजोर बनाउने जस्ता कुराहरुले आज नेपालका मजदुरहरु मजदुरीका लागि पलायन हुने गरेका छन् । यसको सब कारण जहाँ पुँजीपति वर्ग हावी हुन थाल्दछ, त्यहाँ फैलिँदो विकसित रुपमा सबै अधिकारहरु एकाधिकारको रुपमा सिर्जना हुन्छन र माथिलो वर्गले तल्लो वर्गलाई हेर्ने दृष्टिकोणमा फरक पर्दछ ।

अन्ततः जब वर्गहरुबिचमा युद्ध चलिरहन्छ, जुन दिन मजदुरहरुको विजय हुन्छ र पुँजीपतिहरुको पराजय हुन्छ अनि मात्र देशमा वैज्ञानिक समाजवादभित्रको साम्यवादको स्वाद सबैले समान रुपमा लिने छन् ।

 

 

 

 

 

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार