सल्लेरीमा मानसिक स्वास्थ्य सम्बन्धी अन्तरक्रिया

सन्तोष राउत/सोलुखुम्बु । सोलुदुधकुण्ड नगरपालिकाको स्वास्थ्य शाखाको आयोजनामा जुनोटिक तथा मानसिक स्वास्थ्य सम्बन्धी सरोकारवालाहरुसँग एकदिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

सदरमुकाम सल्लेरीमा भएको कार्यक्रममा मानसिक स्वास्थ्य समस्या, यसका कारण, लक्षण तथा रोकथामका उपायका बारेमा विशेषज्ञ डाक्टरहरुले प्रस्तुती गर्नुभएको छ । यस क्रममा जनवारबाट मानिसमा सर्ने रोगहरुको बारेमा समेत चिकित्सले जानकारी गराउनुभयो ।

कार्यक्रमका अवसरमा सोलुदुधकुण्ड नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कोपिला राईले दैनिक जीवनमा आइपर्ने मानसिक स्वास्थ्य समस्या तथा अन्य स्वास्थ्य समस्याहरुका बारेमा सबैले आफ्नो तहबाट सहयोग गर्नुपर्ने धारणा राख्नुभयो ।

मानसिक समस्याको अन्तिम अवस्था मानिने आत्महत्याका बारेमा जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक अनिलकुमार मिश्रले आत्महत्याको वर्तमान अवस्था प्रस्तुत गर्नुभयो । उहाँले प्रस्तुत गर्नुभएको तथ्यांकअनुसार विश्व स्वास्थ्य संगठनको सन् २०२२ को तथ्यांकअनुसार विश्वमा सात लाख तीन हजारले आत्महत्या गरेका छन् भने प्रति एक लाख ९ जनाले आत्महत्या गर्ने गरेका छन् । औषतमा पुरुषले बढी आत्महत्या गरेको पाइएको छ ।

सोलुखुम्बुमा भने पछिल्ला दुई आर्थिक वर्षमा आत्महत्या गर्नेको संख्या घटेको प्रहरीको तथ्यांक छ । यस क्रममा प्रहरी निरीक्षक मिश्रले आत्महत्या गर्नेका लक्षण, रोकथामका उपाय तथा विद्यामान कानुनी प्रावधानका विषयमा समेत उल्लेख गर्नुभयो ।

स्वास्थ्य शाखाका स्वास्थ्य निरीक्षक सुवास तामाङले पछिल्लो समय बढ्दै गएको मानसिक स्वास्थ्य समस्याका बारेमा सबै सरोकारवालाहरुका लागि महत्वपूर्ण ठानेर कार्यक्रमको आयोजना गरिएको बताउनुभयो । अन्तरक्रियामा आएका कुराहरु तल्लो तहसम्म सबैले पुर्याएर सहयोग गर्न उहाँले आग्रह गर्नुभयो ।

यस अवसरमा सोलुदुधकुण्ड नगरपालिकाभित्रका वडा अध्यक्ष तथा कार्यपालिका सदस्यहरु, शाखा प्रमुखहरु, स्वास्थ्यकर्मीहरु, ट्राफिक प्रहरी प्रमुख लगायत अन्य सरोकारवालाहरुको सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार