सोलुखुम्बु । जिल्लाको थुलुङ दुधकोशी गाउँपालिकाले सामाजिक तथा आर्थिक विकासलाई पहिलो प्राथमिकतामा राखेर आगामी आर्थिक वर्षका लागि ५३ करोड रूपियाँ बढी बजेट पेश गरेको छ । आइतबार सम्पन्न दोस्रो गाउँसभाको तेस्रो अधिवेशनमा कुल रु.५३ करोड ९३ लाख ४९ हजार ४७३ रुपियाँ बजेट पेश गरिएको हो ।
आर्थिक वर्ष २०८०/०८१ मा आयतर्फ संघीय सरकार समानीकरण अनुदान रु. १२ करोड २५ लाख, सशर्त अनुदान रु. २६ करोड ३० लाख, राजस्व बाँडफाँड रु. ८ करोड ३८ लाख ६९ हजार ७ सय, समपुरक अनुदान रु.१ करोड ३० लाख र विशेष अनुदान रु.१ करोड २५ लाख हुने अनुमान गरिएको छ ।
त्यस्तै, प्रदेश सरकार समानीकरण अनुदान रु. ७८ लाख ३३ हजार, सर्शत अनुदान रु.६४ लाख ५० हजार, समपुरक अनुदान रु. १ करोड र राजस्व बाँडफाँड रु. २९ लाख ८ हजार आम्दानी हुने अनुमान गरिएको छ । गाउँपालिका प्रवक्ता भोजराज कार्कीका अनुसार आन्तरिक आय रु.१ करोड ४२ लाख ८८ हजार ७ सय, ७३ गत वर्षको अल्या रु.३० लाख गरि कुल रु. ५३ करोड ९३ लाख ४९ हजार ४ सय ७३ को बजेट पेश गरिएको हो।
आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम पारित
आगामी आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम गाउँसभाले पारित गरेको छ । आर्थिक विकास तथा सामाजिक क्षेत्रलाई पहिलो प्राथमिकत राखेको नीति तथा कार्यक्रमले कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रलाई समेत महत्वका साथ स्थान दिइएको छ ।
गाउँ विकास सहकारी गठनदेखि बाली बिमासम्मका कार्यक्रम
गाउँपालिका उपाअध्यक्ष सविता राईले पेश गर्नुभएको नीति तथा कार्यक्रममा सामाजिक तथा आर्थिक विकासको कार्यक्रमलाई प्राथमिकता दिइएको छ । उक्त नीति तथा कार्यक्रममा कृषकहरुको उत्पादनको समर्थन मूल्य तोकी बढि भएका उत्पादन खरिद गर्ने, गाउँ विकास सहकारी गठन गरि पालिका अन्तर्गतका कृषकहरुलाई सहुलियत कर्जा उपलब्ध गराउने, साथै नीजि, सरकारी तथा सहकरीको माध्यमबाट उत्पादन वृद्धि, रोजगारी सृजना तथा दीगो बिकासका कार्यक्रम संचालन गर्ने कार्यक्रम समावेश गरिएको छ ।
कृषकलाई खेतीबालीमा आकर्षित गर्नको लागि मुख्य बालीहरुको पालिकाले बीमा गरिदिने भएको छ । पालिकाभित्रका सबै वडाहरुमा किसानका मुख्य बालीहरुको निःशुल्क बीमा गर्नको लागि आवश्यक बजेट समेत व्यवस्था गरिएको गाउँपालिका प्रवक्ता भोजराज कार्कीले जानकारी दिनुभयो ।
खाने तेल र कफीमा आत्मनिर्भरको लक्ष्य
गाउँपालिकाले खाने तेल र कफीमा आत्मनिर्भर बन्ने नीति लिएको छ । कफी र खाने तेल आयतमा रोक लगाउनेसम्मको कार्यक्रम राखिएको छ ।
आयातित खाने तेल स्वास्थ्यका लागि हानिकार हुनका साथै गाउँभित्रको करोडौँ बजेट बाहिरिने भएकाले तेलमा आत्मनिर्भर बन्ने नीति लिइएको गाउँपालिका अध्यक्ष असिम राईले बताउनभयो ।
वार्षिक रु.९ करोड बराबरको खाने तेल आयत हुने गाउँपालिकासँग प्रारम्भिक तथ्याङ्क रहेको पालिका प्रवक्ता भोजराज कार्कीले जानकारी दिनुभयो । खाने तेल आयत रोक्नको लागि अघिल्लो वर्षदेखिनै तोरी सहित तेलहन खेती बालीमा अनुदानको व्यवस्था गरिएको पालिकाले जनाएको छ ।
यस वर्ष पनि तोरी, सूर्यमुखी, फिलुङ्गी लगायतको बालीमा प्रोत्साहनको कार्यक्रम राखिएको बताइएको छ । उपयुक्त स्थानमा तोरी मिल स्थापना गरि उत्पादित तेलको लेबलीङदेखि प्याकिङ समेत गरिने कार्यक्रममा उल्लेख छ ।
कृषकलाई रोजगारीसँगै आम्दानीमा जोड्ने उद्देश्यले कफीमा आत्मनिर्भर बनाइने नीति अबलम्बन गरिएको छ । जसको लागि पालिकाभित्र उत्पादन भएको कफी सरकारले खरिद गरि आवश्यक प्रसोधनसँगै बजारीकरण समेत गरिने बताइएको छ ।
सुत्केरी तथा गर्भवती महिलाका लागि निःशुल्क एम्बुलेन्स सेवा
गाउँपालिकाले गुणस्तरीय स्वास्थ्य सेवालाई पनि प्राथमीकतामा राखेर कार्यक्रम निर्माण गरेको छ । नागरिकबाट संकलन गरिएको सहयोग मार्फत सञ्चालित दुधकोशी अस्पताललाई थप व्यवस्थित बनाई MDGP डाक्टर सहितको विशिष्ट स्वास्थ्य सेवा प्रवाह गर्ने नीति तथा कार्यक्रमले समेटेको छ ।
स्वास्थ्य बीमा कार्यक्रमलाई समेत जोड दिंदै गर्भवती तथा सुत्केरी महिला सहित जेष्ठ नागरिकका लागि नि:शुल्क एम्बुलेन्स सेवा सञ्चालन गर्ने भएको छ । मान्यता प्राप्त अस्पतालमा नियमित स्वास्थ्य जाँच गर्ने गर्भवती महिलालाई जनही रु.३ हजार ५ सय र अन्यत्र पठाउँनुपरेमा जनही रु.५ हजार दिने लगायतको कार्यक्रम सञ्चालन गरि मातृमृत्युदर शुन्यमा झारेको गाउँपालिकाले आगामी वर्षदेखि एम्बुलेन्स सेवा नि:शुल्क दिने कार्यक्रम राखेको छ ।
रोजगारी सिर्जनाका लागि स्थानीय उत्पादनमा जोड
आगामी आर्थिक वर्षमा थुलुङ दुधकोशीले स्थानीय उत्पादनलाई जोड दिँदै रोजगारी सिर्जना गर्ने नीति लिएको छ । जसको लागि खादामाला र ब्याजको प्रयोग कम गर्दै स्थानीय कच्चा पदार्थको प्रयोगबाट बनाइएका फुर्का, ङिमारी तथा धजुराको अधिक्तम प्रयोग गरिने कार्यक्रममा उल्लेख छ ।
स्थानीय सीप तथा कच्चा पदार्थ प्रयोग गरि आय आर्जनका कार्यक्रम संचालन गर्ने, साना तथा मझौला उद्योग सन्चालन गर्ने तथा कृषिजन्य उद्योगहरु संचालन गर्ने व्यक्ति तथा फर्महरुलाई परियोजनामा आधारित अनुदान प्रदान गर्ने नीति तथा कार्यक्रम रहेको छ।
हरियाली वातावरण निर्माणदेखि पर्यटन प्रवर्द्धन कार्यक्रम
एक वडामा कम्तिमा १०० बिरुवा अनिवार्य रोप्ने र डाँडाखर्क, सुकेपोखरी, जालिम मन्दिर, घुम्नेपानी काँगेल डाँडा लगायत हरेक वडाको शिरमा पोखरी खन्ने तथा सिमर क्षेत्र संरक्षण गर्ने नीति अवलम्बन गर्ने कार्यक्रम समावेश गरिएको छ ।
त्यस्तै, थुलुङ दुधकोशीमा ल्याब सेवा सहितको भेटनरी अस्पताल बनाउन अन्तर सरकारहरुसँग समन्वय गर्ने, ज्येष्ठ हेरचाह केन्द्र स्थापना गर्ने लगाायतको कार्यक्रमम रहेको प्रवक्ता कार्कीले बताउनभयो।