लम्पी स्किन रोकथाम तथा नियन्त्रण गर्न गोठगोठमा सोलुदुधकुण्ड नगरपालिका

सोलुखुम्बु । महामारीका रुपमा फैलिरहेको लम्पी स्किन रोकथाम तथा नियन्त्रणमा घरघरमा सोलुदुधकुण्ड नगरपालिका कृषकको घरघरमा पुगेर लम्पी स्किन विरुद्धको खोप अभियान सञ्चालन गरिरहेको छ ।

देशभरका गाईगोरुमा फैलिएको संक्रमणबाट सोलुदुधकुण्डका पशुहरुलाई जोगाउन नगरपालिकाले एक सताअघिबाट सुरु गरेको खोप अभियान अन्तिम चरणमा पुगेको र हालसम्म पचास प्रतिशत भन्दा बढी पशुहरुमा खोप लगाइएको पशु सेवा शाखा प्रमुख निरुता चापागाईले जानकारी दिनुभयो ।

नगरपालिकाको ११ वटै वडामा करिब ६ हजार ५ सय गाईगोरु रहेको पशु सेवा शाखाको प्रारम्भिक तथ्याङ्क छ । उहाँका अनुसार महामारी नियन्त्रणका लागि नगरपालिकाको ११ वटै वडामा खोप अभियान तिब्र रुपमा अघि बढाइएको छ । अधिकांस वडामा खोप लगाएर सकिएको छ ।

यस अभियानका लागि नगरपालिकाले ११ वटै वडामा ५० हजारका दरले रकम पठाएको छ भने नगरपालिकाकै पशु प्राविधिकहरु खोप लिएर किसानको गोठ÷गोठमा परिचालित भएको नगरप्रमुख नाम्गेलजाङबु शेर्पाले बताउनुभयो । जिल्लामै सबै भन्दा पहिले नगरपालिकाले लम्पी स्किन नियन्त्रणको अभियान थालेकाले क्षतिलाई कम गर्न सफल भएको नगर प्रमुख शेर्पाको भनाइ छ । जनताको दुःखमा साथ दिनु जनप्रतिनिधिको कर्तव्य भएको उहाँले बताउनुभयो ।

मुलुककै समस्याका रुपमा रहेको लम्पी स्किन नियन्त्रणका लागि सबै वडाका पशुहरुमा अभियान नै चलाएर खोप लगाउने सोलुदुधकुण्ड प्रदेशकै पहिलो स्थानीय तह भएको नगर उपप्रमुख गान्धी माया तामाङले दाबी गर्नुभयो ।

रोग नियन्त्रणका लागि पशु शाखाका कर्मचारीहरु किसानको गोठगोठमा खटाइएको प्रमुख प्रशासकीय अधिकृत कोपिला राईले बताउनुभयो । कर्मचारीले वर्षायामको समेत कुनै प्रवाह नगरी उपचार गरिरहेको उहाँको भनाइ छ । यस नगरपालिकामा चार वटा गाईगोरु लम्पी स्किनका कारण मरेका छन् भने करिब चार सय पशु संक्रमित रहेको पशु सेवा शाखाको प्रारम्भिक तथ्याङ्क छ ।

रोग फैलिन थालेसँगै स्थानीय तह रोग नियन्त्रणमा सक्रिय भएकाले क्षतिलाई कम गर्न सफल भएको किसानहरु बताउँछन् । लम्पी स्किन संक्रमित पशुलाई खोप लगाउन नमिल्ने भएकाले विरामी पशुलाई आईसोलेटेट गरेर स्वस्थ पशुलाई खोप लगाइएको हो ।

अन्य वडाहरुको अभिलेख संकलनको काम भईरहेको सोलुदुधकुण्ड नगरपालिकाले जनाएको छ । वडाहरुमा खोप लगाउन छुटेका गाईगोरुहरु भए वडामा सम्पर्क गरी खोप लगाउन समेत नगरपालिकाले आग्रह गरेको छ । यो रोग राँगा भैँसीमा भन्दा गाईगोरुमा बढी फैलिने भएकाले नगरपालिकाले गाईगोरुलाई बढी केन्द्रित गरेर खोप अभियान चलाइरहेको पशु सेवा शाखाले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार