जुनबेसी, सोलुखुम्बु । सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका २ मा संचालित जुनवेशी माध्यमिक विद्यालयमा बन्न लागेको नयाँ भवनको शुक्रबार शिलान्यास भएको छ।
चाँगुनारायण फाउण्डेशन र सोशल डेभलपमेन्ट नेपाल नेदरल्याड्सको संयुक्त आर्थिक सहयोग तथा नगरपालिकाको समन्वयमा दुई करोड २४ लाख ४२ हजार ६ सय १४ रूपैयाको आर्थिक सहयोगमा निर्माण हुने सुविधा सम्पन्न भवनको सोलुदुधकुण्ड नगरपालिकाका मेयर नाम्गेलजाङबु शेर्पाले शिलान्यास गर्नुभएको हो । बौद्ध परम्परा अनुसार लामाको मन्त्रोच्चारण संगै शिलान्यास भएको भवन ३ तले १२ कोठाको बन्ने छ।
आरआर अमरज्योती जेभीले २०८१ असार १६ गते निर्माण सम्पन्न गर्ने गरि काम थालेको हो। शिलान्यासका क्रममा मेयर शेर्पाले गुणस्तरमा कुनै सम्झौता नहुने भन्दै समयभित्र गुणस्तरीय भवन निर्माण सम्पन्न गर्न निर्माण कम्पनीलाई निर्देशन दिनुभयो।
सम्झौता दुई महिना अघि भएपनि विविध कारणले निर्माण कार्य सुरु हुन नसकेको निर्माण कम्पनीका प्रसान्त थापाले तोकिएको समयभित्र नै भवन तयार हुने बताउनुभयो ।
सोही अवसरमा उक्त विद्यालयको पहिलो त्रैमासिक परीक्षाको नतिजा प्रकाशन तथा अघिल्लो आर्थिक वर्षको आय व्ययको सार्वजनक सुनुवाई कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख शेर्पाले शैक्षिक गुणस्तर माथि उठाउन मुख्य रुपमा शिक्षकहरु प्रविधिको अधिकतम प्रयोग गर्दै प्रतिबद्ध भएर लाग्नुपर्ने बताउनुभयो ।
सिकाउने प्रक्रियामा शिक्षकहरु मेहनती हुन आवश्यक रहेको उल्लेख गर्दै शिक्षकहरुले आफ्नो योग्यता र क्षमताको अधिकतम उपयोग गर्न आग्रह गर्नुभयो ।
कार्यक्रममा वडा नम्बर २ का वडा अध्यक्ष तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ङवाङ ठिले शेर्पाले विद्यालयभित्रका आन्तरीक समस्या समाधान गरी अब्बल विद्यालय बनाउन लागि पर्ने दृढता व्यक्त गर्नुभयोे । उहाँले विद्यालयको शैक्षिक सुधारका लागि विद्यालय व्यवस्थापन समिति, विद्यालय प्रशासन, विद्यार्थी, अविभावक सबैको उत्तिकै सक्रियता आवश्यक रहेको भन्दै सबैले हातेमालो गर्नुपर्ने बताउनुभयो ।
त्यस्तै विद्यालयका प्रधानाध्यापक भरतकुमार राईले विद्यालयको चौतर्फी विकासका लागि सम्बन्धित निकायको सहयोग आवश्यक रहेको भन्दै विद्यालयको नतिजा राम्रो ल्याउन शिक्षकको पहिलो कर्तव्य हुने बताउनुभयो।
कार्यक्रममा विद्यालयका शिक्षक, पुर्व प्रअ तथा विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, जनप्रतिनिधी, विद्यार्थी, अभिभावक लगायतको उपस्थीति रहेको थियो ।