सोलुदुधकुण्डले घर नक्सा ‘बैंक’ तयार गर्ने

सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिकाले नगरपालिकाको सौन्दर्यताका लागि नगरपालिकाभित्र निर्माण हुने घरको नक्सा ‘बैंक’ तयार गर्ने भएको छ।

भौगोलिक तथा सांस्कृतिक झल्को दिने नमुना नक्साहरू तयार गरिने र त्यस मध्येबाट छनोट गरी नक्सा पास गरेर घर बनाउनुपर्ने छ।

सोलुखुम्बुको पहिचान झल्किने गरी परम्परागत खालका विभिन्न किसिमका घर नक्सा तयार गर्न प्रारम्भिक चरणको छलफल भएको सोलुदुधकुण्ड नगरपालिकाका नगरप्रमुख नाम्गेलजाङबु शेर्पाले जानकारी दिनुभयो। नगरको सौन्दर्यकरणका लागि व्यवस्थित र स्थानीयपन झल्किने भवन निर्माण गरी सुन्दर पर्यटकीय नगर बनाउन यस्तो गर्न लागिएको नगरप्रमुख शेर्पाले बताउनुभयो ।

नक्सा तयार गर्न माहुरी नेपाल कन्सल्टेन्सीलाई जिम्मा दिइएको र पहिलो चरणको छलफल भएको सोलुदुधकुण्ड नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कोपिला राईले जानकारी दिनुभयो। नगरपालिकाका इन्जिनियरसँग समन्वय गरी स्थानीय सामग्रीको अधिकतम् प्रयोग गरेर विभिन्न लागतका भवनको घर नक्सा तयार गरिने उहाँले बताउनुभयो।

पहिलो चरणको छलफल पछि कन्सल्टेन्सीले स्थानीयका पुराना र कलात्मक भवनको समेत अवलोकन गरेको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार