शैक्षिक गुणस्तर बढाउने पहिलो दायित्व शिक्षकको हो :मेयर शेर्पा

सोलुखुम्बु । सोलुदूधकुण्ड नगरपालिकाका नगरप्रमुख नाम्गेलजाङबु शेर्पाले शिक्षाको गुणस्तर बढाउन शिक्षक नै लागिपर्नुपर्ने बताउनुभयो । रीड नेपालले सोलुदूधकुण्ड नगरपालिकामा गत वर्ष संचालन गरेको कार्यक्रमको समिक्षा तथा यस वर्ष संचालन गरिने कार्यक्रमको जानकारी दिन आयोजित नगरपालिका बैठकका क्रममा प्रमुख शेर्पाले प्रविधिको अधिकतम् प्रयोग गरि शिक्षण गर्न सके गुणस्तर बढाउन सकिने बताउनुभयो।

यस अवसरमा रीड नेपालले काम गर्ने सोलुदुधकुण्ड नगरपालिकाको १९ विद्यालयको सिकाइ उपलब्धि ३.५२ प्रतिशतले वृद्धि भएको रीड नेपालका शिक्षा विकास संयोजक केशवदेव गिरीले जानकारी दिनुभयो। शैक्षिक सत्र २०७८ को तुलनामा २०७९ मा ३.५२ प्रतिशतले सिकाइ उपलब्धि वृद्धि भएको जनाइएको छ ।

सोलुदुधकुण्ड नगरपालिकाभित्रका ६२ सामुदायिक विद्यालय मध्ये रीडले १९ वटा विद्यालयको शैक्षिक विकासमा विभिन्न काम गर्दै आएको छ ।

गत आर्थिक वर्षमा रीडले नगरपालिकाका १३७ जना शिक्षकलाई तालिम, २९ जनालाई छात्रवृत्ति र ४५ जना विद्यालय व्यवस्थापन समिति तथा शिक्षक अभिभावक संघका पदाधिकारीलाई तालिम प्रदान गरेको जनाएको छ । त्यस्तै, ७४३ जना अभिभावक, ३९० जना बाल क्लवका पदाधिकारी र ४५५ जनालाई विद्यालय प्रोफाईल निर्माण सम्बन्धिको तालिम प्रदान गरेको रीडको प्रतिवेदनमा उल्लेख छ ।

गत वर्ष नै पाँच वटा विद्यालयमा प्रारम्भिक बाल विकास कक्षा विस्तार र कक्षा १-३ सम्मका विद्यार्थीको निरन्तर मूल्याङ्कनका लागि ८८३ जनालाई विद्यार्थी सिकाइ मूल्याङ्कन फारम वितरण गरेको छ । गत आर्थिक वर्षमा सोलुदुधकुण्डमा ३२ लाख बराबरको विभिन्न कार्यक्रम गरेको तथा विद्यालय समाग्रीहरु वितरण गरेको रीड नेपाल सोलुखुम्बुले जनाएको छ ।

समिक्षा कार्यक्रममा नगर उपप्रमुख गान्धी माया तामाङ, प्रमुख प्रशासकीय अधिकृत कोपिला राई, नगरकार्यपालिका सदस्यहरु, नगरपालिकाका विषयगत शाखाका प्रमुख तथा प्रतिनिधिहरु, रीड नेपालका प्रशिक्षकहरू, प्रधानाध्यापक तथा शिक्षकहरूको उपस्थिती रहेको थियो ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार