बुटवल । प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक स्वार्थका लागि जनता भड्काउन नसकेर केही समूहले ज्योतिषीलाई उचाल्न थालेको आरोप लगाएका छन् ।
शनिबार बुटवलमा जितगढी विजयोत्सवका अवसरमा आयोजित कार्यक्रममा उनले दक्षिणाको लोभमा बदनाम काम नगर्न ज्योतिषीहरुलाई आग्रहसमेत गरे ।
प्रधानमन्त्री ओलीले समृद्धिको यात्रा देख्न नचाहनेहरु धर्म, समुदाय र ज्योतिषीलाई उक्साएर अनावश्यक भ्रम फैलाउन लागिपरेको जिकिर गरे ।
राष्ट्रिय स्वाधीनताका लागि कर्णेल उजिरसिंह थापाले प्रदर्शन गरेको बहादुरी आफैंमा गर्व गर्न लायक रहेको भन्दै उनले वीरहरुले जोगाएको नेपालीको शीर कहिल्यै पनि निहुरिन नदिने दृढता व्यक्त गरे ।
प्रधानमन्त्री ओलीले ऐतिहासिक किल्लाहरुको संरक्षण सरकारले गर्ने पनि बताए ।
जितगढी किल्लाको संरक्षण गर्नु देशको रक्षा गर्नु भएको भन्दै उनले अतिक्रमित जमिनलाई पुरानै अवस्थामा ल्याउन सरकारले पहल गर्ने बताए ।
कार्यक्रमा प्रधानमन्त्री ओलीले जितगढीमा भएको युद्धको नेतृत्व गरेका कर्णेल उजिरसिंह थापाको पूर्णकदको सालिकको अनावरण तथा नेपालकै सबैभन्दा ठूलो राष्ट्रिय झन्डाको झन्डोत्तोलन गरेका थिए ।



