आधारशिविरमा आरोहीको घुँइचो

सन्तोष राउत

सोलुखुम्बु, वैशाख 20 गते । नेपाल तथा विश्वका विभिन्न देशबाट सर्वोच्च शिखर सगरमाथालगायत विभिन्न हिमाल आरोहण गर्नका लागि आएका टोलीहरु सगरमाथाको आधारशिविरमा प्रवेश गर्न थालेपछि आधारशिविर खचखच भएको छ । यस बर्ष विभिन्न देसका विदेसी तथा स्वदेसी ४०९ जना आरोहीहरु सगरमाथाका हिमाल आरोहण गर्नका लागि आधारशिविरमा भेला भएका हुन् ।
पर्यटन विभागबाट अनुमति लिएकामध्ये सगरमाथा आरोहणका लागि ३९ समुहबाट ३६५ जनाले सरकारबाट अनुमति लिएर आधारशिविर प्रवेश गरेका छन् भने ल्होत्से हिमालको आरोहणका लागि आठ समूहका एक सय, नुप्त्से हिमालका लागि दुई समूहका १९ जना र आमाडब्लमका लागि दुई समूहमा २५ जना आरोही सहयोगीका सहित सगरमाथा प्रदूषण नियन्त्रण समिति (एसपीसीसी) को कार्यालय नाम्चेबाट अनुमति लिएर आधार शिविरतर्फ लागेको एसपीसीसीका कार्यक्रम अधिकृत कपिन्द्र राईले जानकारी दिनुभयो ।
यस वर्षको संख्या सगरमाथा आरोहणको इतिहासमा सर्वाधिक रहेकाले पनि आधारशिविरमा घुँईचो भएको हो । लगातार दुईवर्षसम्म प्राकृतिक विपत्तिका कारण अबरुद्ध हुँदा आरोहण गर्न नपाएकाहरु यस वर्ष पुरानै शुल्कमा आधारशिविर आएका छन् । अधिकांश आरोहीहरु आधारशिबिरबाट क्याम्प एक, दुई, तीन हुँदै चारसम्म जान थालेका छन् भने केही आरोहीहरु पनि आधारशिबिरमै तयारीमा जुटिरहेको अधिकृत राइले बताउनुभयोे ।
सगरमाथालगायत सोलुखुम्बुका हिमालहरु आरोहणका लागि सगरमाथा प्रदुषण नियन्त्रण समितिबाट प्रवेशाज्ञा लिएर मात्र जानु पर्दछ । सबै आरोहीहरुले एउटै आधारशिविर प्रयोग गर्नाले पनि आधारशिविरमा आरोही तथा उनीहरुका आरोहण सहयोगी सहित करिब नौ सय भन्दा बढी भएको एसपीसीसीका आधारशिविर प्रतिनिधि चक्र गिरीले जानकारी दिनुभयो । हाल आधारशिबिरमा आरोही तथा आरोहण दलका सहयोगी एक्सपिडिसनका गाईडहरु, सहयागीहरु रहेका छन् ।
सगरमाथाको आधारशिविरमा खाद्यान्न तथा दैनिक प्रयोगका सामग्रीहरु ओसारपसार गर्ने, बाहिर घुमफिर गर्ने तथा आरोहण दलका क्लाईमिङ गाइड तथा अन्य कर्मचारीका कारण यत्तिबेला सगरमाथा आधारशिविर आरोहीहरुको बजार जस्तै देखिन थालेको उहाँले बताउनुभयोे । आधार शिविरभरी पाल टाँगेर बसेका आरोही दलहरुले सगरमाथाको आधारशिविर भरिदैँ गएको छ ।
आधारशिविरमा ‘स्प्रिङ सिजन’ को बिशेष रौनक देखिएको बताइएको छ । बर्षको दुईपटक आरोहणका लागि खुल्ला गरिए पनि हिमाल आरोहीहरुले सगरमाथा आरोहणका लागि बसन्त ऋतुलाईनै बढी रोज्ने गरेको पाइएको छ ।
file photo

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार