सन्तोष राउत
सोलुखुम्बु, वैशाख २२ गते । सर्वाेच्च शिखर सगरमाथाको आरोहणका लागि चुचुरोमा पुग्ने माथिल्लो स्टेपको बाटो निर्माण धमाधम भइरहेको छ । आरोहीहरु धमाधम क्याम्प दुईबाट तीनसम्म जान थालेपछि चुचुरोमा पुग्ने बाटो निर्माण सुरु गरिएको सगरमाथा आधार शिबिरबाट सरकारका सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठले जानकारी दिनुभयो ।
सगरमाथाको आठ हजार ६५० मिटरसम्मको उचाइमा मार्ग निश्चित गरिएको र मौसमले साथ दिएमा शुक्रबारसम्म चुचुरोसम्मको आरोहण मार्ग निर्माण गर्ने लक्ष्य रहेको उहाँले बताउनुभयो । त्यसका लागि १० जना आरोहण सहयोगीहरु सक्रिय छन् । अहिले सगरमाथाको बाल्कोनीबाट हिलारी स्टेपतर्फ लाइन निश्चित गर्ने काम भइरहेको श्रेष्ठको भनाइ छ ।
यस बर्ष विभिन्न देसका विदेसी तथा स्वदेसी ४०९ जना आरोहीहरुले सगरमाथालगायतका हिमाल आरोहण गर्नका लागि आधारशिविरमा भेला भएका छन्् । पर्यटन विभागबाट अनुमति लिएकामध्ये सगरमाथा आरोहणका लागि ३९ समुहबाट ३६५, ल्होत्से हिमालको आरोहणका लागि आठ समूहका एक सय, नुप्त्से हिमालका लागि दुई समूहका १९ जना र आमाडब्लमका लागि दुई समूहमा २५ जना आरोही तयारीमा रहेका छन् ।
केही आरोहीहरु ‘क्याम्प थ्री’ सम्म पुगिसकेका छन् । कतिपय आरोहणका लागि आवश्यक सामानहरु क्याम्प चारमा जम्मा गरिरहेको छन् । सबै सामान सहित तयारी भएपछि आरोहण सुरु हुने बताइएको छ । केही आरोहीहरु भने वातानुकुलीत हुन आधारशिबिरदेखि लबुचे, नाम्चेलगायतका गाउँसम्म झर्ने माथि जाने गरिरहेका छन् ।
त्यस्तै, सँगै रहेको ल्होत्से हिमालको पनि आगामी मे ९ अर्थात २६ गते पुरा गरिसक्ने योजना छ । बाटो निर्माण कार्य पूरा भएपछि धमाधम आगामी हप्ताबाट आरोहीहरुले शिखर चुम्न सुरु गर्ने अधिकृत श्रेष्ठले जानकारी दिनुभयो ।
सगरमाथा आधारशिविरबाट क्याम्प दुईसम्मको बाटो यसअघिनै सगरमाथा प्रदुषण नियन्त्रण समिति नाम्चेमार्फत आइसफल डाक्टरलले निर्माण गरिसकेका छन् । पाँच हजार ३६४ मिटर उचाइमा रहेको सगरमाथा आधार शिविरबाट छ हजार ४०० मिटर उचाइको क्याम्प दुईसम्मको बाटो सगरमाथाको बाटो बनाउने काम सरकारले एसपीसीसीलाई जिम्मा दिने गरेको छ । क्याम्प दुईभन्दा माथिका लागि बाटो खोल्ने तथा डोरी बाँध्ने काम आरोहण टोलीका प्राविधिकहरुले नै सोही समयमा गर्छन् ।
सगरमाथा, ल्होत्से र नुप्त्से हिमाल आरोहणका लागि प्रयोग गरिने आधार शिविर एउटै हो । आधार शिविरबाट क्याम्प दुइसम्म तीन वटै हिमालको आरोहणका लागि बाटो पनि एउटै प्रयोग हुँदै आएको छ ।
फोटो : फाइल फोटो ।