सन्तोष राउत
सोलुखुम्बु, जेठ १ गते । सोमबार अर्थात मे १५ बाट विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण सुरु भएको छ । केही दिनअघि मौसम प्रतिकूल भएर अनिश्चित बनेको यस सिजनको आरोहण आज दिउँसो सवा एक बजे पहिलो पटक १४ जना नेपाली चुचुरो चुम्न सफल भएका सरकारकातर्फबाट आधार शिविरका सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठले जानकारी दिनुभयो ।
पहिलो दिन बेलायती सेनामा कार्यरत गोर्खालीहरुको टोलीले सफल आरोहण गरेको छ । जसमा कृष्ण थापा मगर, निर्मल पुर्जा र धन्नी राईले सगरमाथाको शिखर चुमेको अधिकृत श्रेष्ठले बताउनुभयो । यो टोली भूकम्प गएको वर्ष आरोहण स्थगित गरेर फर्किएको थियो । यस पटक बेलायती सेनाको नेपाली र गोराको टोली सगरमाथा आरोहणका लागि आएको हो ।
त्यस्तै, पेम्बाछिरिङ शेर्पा, पेमछिरी शेर्पा, कान्छानुरु शेर्पा, लाक्पागेलु शेर्पा, सोनामजाङबु शेर्पा, पासाङ शेर्पा, छिमीलेन्डुक गुरुङ, देन्डी शेर्पा, टसी शेर्पा र ज्याबु भोटेले बाटो निर्माण गर्ने कार्य सम्पन्न भएसँगै सगरमाथाको सफल आरोहण गरेका छन् । सगरमाथा आरोहणको पहिलो टोली सफल भएसँगै अब धमाधम आरोहण कार्य हुने अधिकृत श्रेष्ठले बताउनुभयो । उहाँकाअनुसार आधारशिविरमा आरोहणको पर्खाइमा रहेका आरोही क्याम्प चारमा आएपछि आरोहण हुने छ ।
यस बर्ष विभिन्न देसका विदेसी तथा स्वदेसी ४०९ जना आरोहीहरुले सगरमाथालगायतका हिमाल आरोहण गर्नका लागि आधारशिविरदेखि तथा क्याम्प चारसम्म पुगेका छन्् । यस वर्ष ३९ समुहका ३६५ जनाले सगरमाथा आरोहण गर्ने छन् भने, आठ समूहका एक सय जनाले ल्होत्से, दुई समूहका १९ जनाले नुप्त्से हिमाल र दुई समूहमा २५ जनाले आमाडब्लम हिमाको आरोहण गर्ने तयारीमा रहेका छन् ।