भारतीय महिलाको नयाँ किर्तिमान


हिमशिखर समाचारदाता
सोलुखुम्बु, जेठ १० गते । एकै सिजनमा दुई पटक सगरमाथा आरोहण गर्ने अनुमति लिनुभएकी भारतीय महिला अंशु जम्सेन्पाले दुई पटक सफल आरोहण गरेर नयाँ किर्तिमान कायम गर्नुभएको छ । उहाँले सगरमाथामा बाटो खुलेपछि मे १६ र २१ तारिखमा गरी पाँच दिनको फरकमा दुई पटक सगरमाथाको सफल आरोहण गरेर नयाँ किर्तिमान कायम गरेको सरकारतर्फबाट आधारशिविरका सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठले जानकारी दिनुभयो ।
३७ बर्षीय अंशुले पर्यटन विभागबाट एकै सिजनमा दुई पटक सगरमाथा आरोहणको अनुमति लिएर एजी एभरेष्ट एक्सपीडिसनमार्फत आधारशिविर पुग्नु भएको थियो । दुई पटक आरोहणका लागि जानसेन्पाले पर्यटन विभागमा प्रति पटकको ११ हजार डलरका दरले दुई पटकका लागि २२ हजार डलर बुझाउनु भएको पर्यटन अधिकृत श्रेष्ठले बताउनुभयो । सामान्यतया एक सिजनमा आरोहीले एक पटक मात्रै हिमाल आरोहण गर्ने गरिएको भए पनि उहाँले एकै सिजनमा दुई पटक आरोहण गर्नुभएको हो ।
आरोहणका लागि उहाँले सामान्य रुट प्रयोग गर्नु भएको जनइएको छ । यो सिजनमा दुई पटक आरोहण गर्ने र छोटो समयाबधिमा आरोहण गर्ने उहाँ एक मात्र आरोही बन्नु भएको छ । भारतको अरुणाञ्चल प्रदेशकी जम्सेन्पाले यसअघि सन् २०११ मा १० दिनको अन्तरालमा दुई पटक सगरमाथाको आरोहण गरिसक्नु भएको थियो ।
अहिलेसम्म छोटो समयावधिभित्र महिला पर्वतारोहीले सगरमाथाको आरोहण गरेको कीर्तिमान नेपालकी छुरिम डोमा शेर्पाको नाममा छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार