हिमशिखर समाचारदाता
सोलुखुम्बु । खुम्बु क्षेत्रका होटल तथा लजहरुले पर्यटकको चाप धान्न नसकिरहेका बेला सगरमाथा राष्ट्रिय निकुञ्जले निर्माण सुरु गरेको होटल करिब एक बर्षदेखि अलपत्र बनेको छ । सगरमाथा आधारशिविर जाने पदमार्गमा पर्ने लबुचेमा निर्माण भइरहेको होटलको भवन अलपत्र परेको हो ।
निकुञ्जको जग्गामा व्यक्तिलाई भवन बनाउन दिएर होटल सञ्चालन गर्ने र निकुञ्जले बार्षिक राजस्व लिने गरी बनाउन थालिएको उक्त भवन एक तला पर्खाल उठाएर छाडिएको छ । निर्माण जिम्मा लिएको विशाल कन्स्ट्रक्सले भवन बनाउनुअघि वातावरणीय प्रभाव मूल्याङ्कन (इआइए) नगरेको भन्दै सगरमाथा राष्ट्रिय निकुञ्ज नाम्चेले निर्माणमा रोक लगाएपछि एक बर्ष देखि अलपत्र परेको हो ।
२०७२ साल बैशाख १२ गतेको भूकम्पका कारण सगरमाथा आधारशिविर नजिकै रहेको निकुञ्जको पुरानो भवन भत्कीएपछि निकुञ्जले सोही बैशाखको २२ गते सुविधा सम्पन्न नयाँ होटलको निर्माण गरी सञ्चालन गर्न विशाल कन्स्ट्रक्सनसँग सम्झौता गरेको थियो । २०७३ साल असार मसान्तमा निर्माण गरिसक्ने गरी सम्झौता भए पनि इआइए नगरिएको भन्दै निकुञ्जले गत जेष्ठ १४ गतेबाट निर्माणमा रोक लगाएको विशाल कन्स्ट्रक्सनका प्रोप्राइटर दिनेश मगरले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘पहिले सहमति गर्ने बेलामा इआइएको बारेमा कुनै कुरा नै भएन, अहिले निकुञ्जमा अर्कै हाकिम आउनुभएको छ, उहाँले इआइए बिना निर्माण गर्न मिल्दैन भनेर रोक्नुभएको छ ।’
यता सगरमाथा राष्ट्रिय निकुञ्जका वाडेन गणेश पन्तले इआइए बिना भवन निर्माण हुन नसक्ने भन्दै इआइए गरेर मात्रै काम अघि बढाउन भनिएको बताउनुभयो । प्रक्रिया नपु¥याइ काम गरिएकाले सोही बेहोराको पत्र राष्ट्रिय निकुञ्जको विभागमा पठाएको उहाँको भनाइ छ । पन्तले भन्नुभयो, ‘पत्र विभागमा पठाएको छु तर माथिबाट कुनै निर्देशन आएको छैन ।’ झण्डै २० वटा कोठा हुने उक्त होटलमा ४० जना सुत्न सक्ने सुविधाको हुने छ ।
एक बर्षदेखि अलपत्र परेपछि उक्त भवनको निर्माण भएका पर्खालहरु पनि भत्कीएर लथालिङ्ग बनेको छ । निकुञ्ज हाताभित्रको जग्गामा ठेक्केदार कम्पनीले निर्माण गरेको होटलबाट निकुञ्जले बार्षिक कर उठाउने गर्दछ । भवन निर्माणको सबै खर्च कम्पनीले नै बेहोर्ने सम्झौता छ ।
लबुचेमा यस बर्ष होटलको क्षमता भन्दा धेरै पर्यटक पुगेपछि पर्यटकहरुले सास्ती पाएका थिए । आन्तरिक पर्यटकका रुपमा खुम्बु जानुभएका विक्रम श्रेष्ठकाले सिजनमा बास बस्न तथा सुत्न समस्या भइरहेको अवस्थामा समयमा होटल निर्माण गर्न सके सहज हुने बताउनुभयो । निकुञ्जले बनाउन थालेको उक्त होटल छिटै निर्माण भएर सञ्चालनमा आए पर्यटकलाइ धेरै राहत पुग्ने पर्यटन व्यवसायी चित्र राइले बताउनुभयो । निकुञ्जले लबुचे नजिकै पिरामिडमा र तेङबोचेमा पनि होटल सञ्चालन गरिरहेको छ । यस्ता होटलमा नीजि होटल भन्दा नेपाली पर्यटक र पथप्रदर्शकलाइ सहुलियत हुने भएकाले खुम्बु क्षेत्रमा निकुञ्जले सञ्चालन गरेको होटल लोकप्रिय मानिन्छन् ।