आन्तरिक पर्यटन प्रबद्र्धनका लागि नाम्चेमा सर्वाधिक राशीको भलिबल


सन्तोष राउत/सोलुखुम्बु । खुम्बु भ्रमणमा आन्तरिक पर्यटकलाई पनि बढवा दिन सोलुखुम्बुको नाम्चेमा नेपालकै हालसम्मको सर्वाधिक राशीको भलिबल प्रतियोगिता आयोजना गरिएको छ । अक्सर बिदेशी पर्यटक मात्रै पुग्ने खुम्बुमा स्वदेसी पर्यटक पनि भिœयाउनका लागि ‘सगरमाथाको फेदी अनुपम छ ठाउँ, आन्तरिक पर्यटनका लागि नाम्चे घुम्न जाऔँ’ भन्ने मुल नाराका साथ नेपालकै सर्वाधिक राशीको भलिबल प्रतियोगिता आयोजना गरेको आयोजक नाम्चे यूवा समूहले जनाएको छ ।

सगरमाथा दिवस अर्थात मे २९ मा नाम्चेबजारमा बृहद खुला भलिबल प्रतियोगिताको आयोजना गरिएको नाम्चे युवा समुहका खेल संयोजक लामाकाजी शेर्पाले जानकारी दिनुभयो । उहाँकाअनुसार प्रतियोगितामा प्रथम हुने टिमले नगद पाँच लाख १०१ रुपियाँका साथमा शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् भने द्वितिय र तृतिय हुने टिमले क्रमशः नगद तीन लाख १०१ रुपियाँ र एक लाख १०१ रुपियाँ का साथमा शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । उत्कृष्ट खेलाडीका लागि नगद ५० हजार १०१ रुपियाँका साथमा मेडल र प्रमाणपत्र प्रदान गरिने छ । यो पुरस्कार राशी अहिलेसम्मकै सबै भन्दा ठुलो राशी भएको आयोजकको दाबी छ ।

खेलमा सहभागी हुन १० हजार रुपियाँ दर्ता शुल्क निर्धारण गरिएको छ भने १२ खेलाडी सहित व्यबस्थापक प्रशिक्षक र सहायक प्रशिक्षक गरी १६ जना सहभागी हुन पाउने व्यबस्था गरिएको शेर्पाले बताउनुभयो । खुला प्रतियोगिता भएकाले ख्यातीप्राप्त जुनसुकै क्लब आउन सक्ने तर स्थानीय खेलाडी पनि हुने भएकाले राष्ट्रिय खेलाडी एक टिममा दुई जनासम्म मात्र खेलाउन पाउने नियम बनाइएको आयोजकले जनाएको छ ।

सगरमाथा अवस्थित खुम्बु क्षेत्रमा बार्षिक ३५ हजारको संख्यामा बिदेशी पर्यटक पुगे पनि नेपाली दाजुभाइहरु खुम्बु जान नसकेको भन्दै आन्तरिक पर्यटकलाइ पनि प्राथमिकता दिनुपर्ने आयोजकको भनाइ छ । खुम्बुमा आन्तरिक पर्यटकलाई योग्य ब्यबहार गरिदैँन भन्ने गलत हल्ला चिर्न पनि कार्यक्रम गरिएको संयोजक शेर्पाले बताउनुभयो । खुम्बुको पर्यटन बिदेशी भन्दा स्वदेशी पर्यटकमार्फत प्रबद्र्धन गर्न सकिने निष्कर्ष आफूहरुको रहेको नाम्चेका अगुवा सोनाम ग्याल्जेन शेर्पाले बताउनुभयो ।

खुम्बुका अधिकांश पर्यटकीय गाउँहरुमा आतिथ्य सत्कारका लागि आवश्यक होटल तथा लजहरु निर्माण भइसकेकाले अब जति पर्यटक आएपनि सेवा दिन सक्ने भन्दै आन्तरिक पर्यटनलाइ पनि बढवा दिन लागिएको बताइएको छ । केही बर्ष पहिले पनि नाम्चेका बासिन्दाले आन्तरिक पर्यटन प्रबद्र्धन गर्न भन्दै नाम्चे महोत्सब गरेको थियो । तर त्यसले निरन्तरता पाउन नसकेपछि यस्तो प्रतियोगितात्मक कार्यक्रमहरु गर्न लागिएको लामाकाजीको भनाइ छ । यसअघि पनि नाम्चे युवा समुहले फुटसल प्रतियोगिता गरेको थियो । त्यस समय पनि सयौँ आन्तरिक पर्यटक भिœयाउन सकेको भन्दै यस पटकको बृहत कार्यक्रमले पाँच हजार बढी आन्तरिक पर्यटक भिœयाउन सकिने आयोजकको लक्ष्य छ ।

कार्यक्रममा राष्ट्रियस्तरका ख्यातीप्राप्त कलाकारबाट सांस्कृतिक कार्यक्रमको समेत आयोजना गरिएको छ । सांस्कृतिक कार्यक्रममा लोक गायक बद्रि पंगेनी, इण्डियन आइडल प्रशान्त तामाङ, पप गायक अभिनाश घिसिङलगायतलाई नाम्चे ल्याउने तयारी आयोजकले गरेको छ । विश्वको सर्वोच्च शिखर सगरमाथामा पहिलो पटक मानव पाईला राखेको दिनको अवसरमा हरेक बर्ष विभिन्न कार्यक्रम गरी सगरमाथा दिवस मनाउने गरिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार