नेचालीको सपना दस बर्षदेखि अधुरै

हिमशिखर समाचारदाता/सोलुखुम्बु । सोलुखुम्बुको नेचाबेतघारीमा निर्माणाधीन सोलुखोला तुइनटार लघुजलविद्युत आयोजना करिब १० वर्षदेखि अलपत्र हुँदा नेचालीको विजुली बाल्ने सपना अधुरै रहेको छ । निर्माण समितिको ढिलासुस्तीका कारण काम अगाडि बड्न नसक्दा आयोजना अलपत्र बनेको हो ।

सुरुमा निर्माणको काम गरिरहेका हर्कमान राईको अध्यक्षतामा गठन भएको निर्माण उपभोक्ता समितिले निर्माण कार्यमा कुनै तदारुकता नदेखाएको भन्दै गठन गरेको नयाँ समितिले पनि समयमा काम नगर्दा बिजुलीको उज्यालोमा बस्ने नेचालीको सपना पूरा हुन नसकेको हो ।

वि.सं. २०६३ सालबाट निर्माणको प्रक्रिया शुरु गरेको सो आयोजनाको काम २०६४ सालबाट सुरु गरी वि.सं. २०६७ सालमा सम्पन्न गर्ने सम्झौता भएको थियो । करिब एक हजार घरधुरीलाई बत्ति बाल्न पुग्ने गरी थालिएको एक सय किलोवाट क्षमताको आयोजना निर्माण नहुँदा समस्या भएको स्थानीय शुभ थुलुङले बताउनुभयो ।

जसकुमार राईको अध्यक्षतामा रहेको निर्माण उपभोक्ता समितिले काम गरिरहेको बताए पनि स्थानीय तहका प्रतिनिधिहरुले भने कुनै काम नभएको दाबी गरेका छन् । नेचासल्यान गाउँपालिकाले चालु आर्थिक वर्षको विनयोजित बजेटबाट ७३ लाख रुपियाँ रकम आयोजनाको लागि छुट्याएको भएपनि उक्त रकम गाउपालिकाकै खातामा थन्किएको छ । यता निर्माण समितिका अध्यक्ष जसकुमार राईले निर्माण कार्य निरन्तर चालु रहेको बताउनुभयो ।

चालु आर्थिक वर्षमा पनि पाइप फिटिङ्ग र ट्याङ्की निर्माणलगायतका काममा २४ लाख रुपियाँको काम भएको अध्यक्ष राईको भनाइ छ । हाल निर्माण उपभोक्ता समिति ऋणमा रहेकाले रकम अभावकै कारण काम अगाडि बढाउन नसकिएको उहाँले प्रष्ट पार्नुभयो । गत आर्थिक वर्षको ११ लाख रुपियाँ र यस आर्थिक वर्षको २४ लाख रुपियाँ गरी समितिको नाममा हाल ३५ लाख रुपियाँ ऋण रहेको अध्यक्ष राईले जानकारी दिनुभयो । गाउँपालिकाका अध्यक्ष डुफकुमार बाँस्तोलाले निर्माण समितिले बुझाएको अभिलेखअनुसारको कुनै काम नभएको भन्दै आफुहरु छलफलकै क्रममा रहेको बताउनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार