बारको मतगणना अन्तिमचरणमा

काठमाडौं । नेपाल बार एशोसिएशनको अगामी नेतृत्वको लागि भइरहेको मतगणना अन्तिम चरणमा पुगेको छ । बुधबार अबेर राति सम्पन्न गणना बमोजिम प्रगतिशील, पेसागत तथा समावेशी समूहबाट अध्यक्ष पदका प्रत्याशि चण्डेश्वर श्रेष्ठ ७० मतले अग्रता लिनुभएको छ ।

वृहत्त लोकतान्त्रिक समूहका प्रत्याशि सुनील पोखरेल मंगलबारको गणना सकिदा श्रेष्ठभन्दा ७८ मतले अगाडी रहनुभएको थियो । बुधबार काठमाडौंको गणना सुरु हुँदा पोखरेललाई श्रेष्ठले उछिन्नु भएको हो ।

त्यसैगरी महासचिव पदमा भने वृहत्त लोकतान्त्रिक समूहका लीलामणि पौडेलले अग्रता लिनुभएको छ । उहाँको दुई हजार ४५४ मत छ । प्रतिद्वन्दी प्रगतिशील, पेसागत तथा समावेशी समूहका सुरेन्द्र बहादुर थापाले दुई हजार ३१४ मत प्राप्त गर्नुभएको छ । महासचिव पदकै स्वतन्त्र उम्मेदवार डाक्टर रामहरि त्रिपाठीको ८९ मत छ ।

नेपाल बार एशोसिएशनको निर्वाचन समितिका मुख्य निर्वाचन अधिकृत दामोदर खडकाले बिहिबार बेलुकी मतगणना सकिने बताउनुभयो । उहाँले काठमाडौं जिल्ला अदालत र बार एशोसिएशन परिसर गरी दुई स्थलको छवटा मतपेटिकाको दुई हजार ५८५ मत गणना गर्न बाँकी रहेको बताउनुभयो ।

नेपाल बार एशोसिएशनको नयाँ नेतृत्वको लागि चैत १६ गते मतदान भएको थियो । ११ पदाधिकारीसहित २५ सदस्यीय समितिको लागि ६३ जनाले उम्मेदवारी दिनुभएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार