काँग्रेस नेता शेर्पाले गरे ८० घरलाई खानेपानी व्यवस्था

सन्तोष राउत/सोलुखुम्बु। सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिका–फेरामा खानेपानीको प्रभावकारी व्यवस्था भएपछि स्थानीय खुशी भएका छन् । स्थानीय सुम्बा शेर्पाले खुशी हुँदै भन्नुभयो–गाउँमा खानेपानीको व्यवस्था राम्रो नहुँदा हिउँदको सुख्खायाममा ठूलो समस्या भोग्नु परेको थियो, अब भने ढुक्कले पानी खान पाइने भो । उहाँजस्तै सबै उपभोक्ताले खानेपानीको प्रभावकारी व्यवस्था भएकोमा खुशी व्यक्त गरेका छन् ।

जिल्लाको शिक्षा, स्वास्थ्यलगायतका क्षेत्रमा विगत लामो समयदेखि काम गदै आएको हिमालयन केयर फाउण्डेसन नेपालले फेराका ८० घरलाई स्वच्छ खानेपानीको व्यवस्था गरेको हो । संस्थाको सात लाख ८६ हजार रुपियाँ तथा श्रमदान गरी कूल नौ लाख रुपियाँको लागतमा खानेपानीको व्यवस्था गरिएको हिमालयन केयर फाउण्डेसन नेपालका अध्यक्ष सोनामग्याल्जेन शेर्पाले जानकारी दिनुभयो ।

सोलुदूधकुण्ड नगरपालिकाका कार्यपालिका सदस्य तथा काँग्रेस नेता शेर्पाले भन्नुभयो–सदरमुकाम नजिक भएर पनि व्यवस्थित खानेपानी नभएकाले स्थानीय तथा जनप्रतिनिधिको मागअनुसार खानेपानीको व्यवस्था गरेको हो । दुर्गममा स्वच्छ खानेपानीको व्यवस्था गर्न पाउँदा खुशी लागेको उहाँले बताउनुभयो ।

संस्थाले उपलब्ध गराएको बजेटबाट पाइप, ट्याङ्कीलगायत आवश्यक सामग्री खरिद गर्ने र श्रमदानबाट निर्माण गर्ने वडा अध्यक्ष मिङ्मारदोर्जी शेर्पाले बताउनुभयो । गाउँमा खानेपानी जस्ता आधारभूत आवश्यकताको व्यवस्था स्थानीय तह आफैँले गर्नुपर्ने अवस्थामा संस्थाले सहयोग गर्नु सकरात्मक काम हो, अध्यक्ष शेर्पाले भन्नुभयो । सरकारी तथा गैरसरकारी सबै निकायबाट वडाको विकासका लासग सहयोग जुटाउने उहाँको भनाइ छ ।

यसैबिच, वडा नम्बर २ पूरै समेट्ने गरी नेपाल मेड नेपालले करिब दुई लाख रुपियाँको लागतमा १४५ थान डस्टविनको व्यवस्था गरेको छ । वडालाई सफा तथा स्वच्छ बनाउनका लागि विभिन्न अभियान सञ्चालन गरिरहेका बेला प्राप्त भएका डस्टबिनले थप सहयोग पुगेको वडा अध्यक्ष शेर्पाले बताउनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार