दाहालको ‘क्षेप्यास्त्र’ ले तरंग

काठमाडौं । ‘यतिबेला किन बोले दाहाल ? ’ राजनीतिक वृत्तमा जिज्ञासा पोखिने क्रम बढ्दै छ । प्रधानमन्त्री केपी ओली भारत जाने सुरसार गर्दै गर्दा अर्का अध्यक्ष पुष्पकमल दाहालले १५ गते एक टेलिभिजनमार्फत डेढ वर्षपछि आफू प्रधानमन्त्री हुने सहमति भएको खुलासा गरे । यो खुलासाले ओली निकै क्रुद्ध बनेका थिए । भारी मन र खिन्न अनुहार बनाएर ओली भारततर्फ प्रस्थान गर्दै गर्दा राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा ५ बुँदे सहमति छ्याप्छ्याप्ती भइसकेको थियो । ओलीका लागि यो घटना निकै असह्य थियो ।

दुई तिहाइको स्थायी सरकारको सन्देश दिइरहेका ओलीलाई डेढ वर्षपछि सत्ता हस्तान्तरणको सहमति खुलासाले मन खिन्न हुनु स्वाभाविक पनि थियो । ओली दिल्ली जाने तय भइसकेपछि यस्तो खुलासा गर्नु अर्का अध्यक्ष दाहालको रणनीति, बाध्यता वा परिबन्ध ? के थियो भन्ने बहस सुरु भएका छन् । निश्चय नै, दुई पटक प्रधानमन्त्री बनिसकेका दाहाललाई मुलुकको प्रधानमन्त्री विदेशमा जाने निश्चित भइसकेको वा प्रधानमन्त्री विदेशमा रहेका बेला सरकारका विषयमा बोल्नु उचित होइन भन्ने हेक्का थिएन भन्न मिल्दैन।

प्रधानमन्त्रीको हैसियतमा भारत भ्रमणमा रहेका बेला अख्तियारले रातारात पत्रकार सम्मेलन गर्दाको पीडा दाहालले यति चाँडै बिर्से होलान् र ? राजनीतिमा ‘के बोलियो भन्ने कुराको जति महत्व छ । कतिबेला बोलियो’, भन्ने कुराले पनि उत्तिकै महत्व राख्छ । भारतमा ५ वर्षका लागि मोदीको पुनः उदय भएको र उक्त समारोहमा ओली सहभागी हुने निश्चित भइसकेपछि दाहालको खुलासाले ‘ओलीको कार्यकाल ५ वर्ष’ छैन भन्ने ‘कूटनीतिक’ सन्देश प्रवाह गरेको बुझ्न कठिन छैन ।

यसले ‘दीर्घकालीन महत्व र रणनीतिका विषयमा’ ओलीसँग कुनै सहमति÷सम्झौता वा कुराकानी नगर्न भारतको सत्तारोहणको तयारीमा रहेको नेतृत्वलाई सतर्क गराएको देखिन्छ । मुखले ठिक्क पारे पनि प्रधानमन्त्री ओलीसँग सन्तुष्ट हुन नसकेको भारतीय शासकलाई दाहालको खुलासाले खुसी नै बनाएको हुनुपर्छ । तर, ओलीले भने यसलाई नेपालको राजनीतिको चरित्र भन्दै असन्तुष्टि जनाए ।

ओली भारतमा हुँदा गम्भीर र खिन्न मुद्रामा देखिए । त्यसो त दाहालले करिब ६ महिनाअघि केही भारतीय सञ्चारमाध्यमलाई अन्तर्वार्ताका क्रममा ५ बुँदे सहमतिबारे जानकारी गराएका थिए ।

कम्युनिस्ट स्थापना दिवसका दिन आयोजित कार्यक्रममा सार्वजनिक पुस्तकमा पनि ५ बुँदे सहमतिपत्र छापिएको थियो । त्यतिबेला कुनै नेता–कार्यकर्ताले त्यसलाई गम्भीर रूपमा लिएनन् । ‘बाघ कराउनु र बाख्रा हराउनु’ जस्तै बन्यो, ५ बुँदेको खुलासा । हो, पार्टी एकतादेखि ५ बुँदे सहमतिको पत्र सार्वजनिक हुँदाको अवस्थामा यस्तै अन्योलमा थिए, नेकपाका कार्यकर्ता । पार्टी एकता गर्दाताका के सहमति भएको थियो ? एकताको मोडेल के थियो ? पदको बाँडफाँट के कसरी हुन्छ भनी सोध्दा, नेकपाका जिम्मेवार नेताबाट जवाफ आउँथ्यो, ‘था छैन ।’ यस्तै था छैनको अन्योलबीच एक वर्ष गुजारे उनीहरूले ।

अब पोलिटब्युरो गठन, नेताको कार्यविभाजन के–कसरी हुन्छ भनेर सोध्यो भने अहिले पनि नेकपाका नेता ‘था’ छैन भन्ने जवाफ दिन्छन् । तर, कार्यकर्ताले था’ छैन भन्दाभन्दै जिल्ला तहसम्म पुगिसकेको छ, एकता । यस्तै अन्योलबीच पार्टी अध्यक्ष दाहालले सत्ताको नेतृत्व बराबरी गर्ने सहमति भएको खुलासा गरेपछि नेकपाभित्र हलचल पैदा भयो । यसले राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा तरङ मात्र सिर्जना गरेको छैन, राजनीतिक ज्योतिषका अनेक भविष्यवाणी सार्वजनिक हुन थालेका छन् ।

जबजको अन्तर्द्वन्द्व

जिल्ला तहको एकता नसकिँदै सचिवालय सदस्य ईश्वर पोखरेलले पार्टीमा सैद्धान्तिक विवादको विषय उठाए । आफूलाई अस्थिर भनेर आरोप लाग्ने गरेको कुरालाई खण्डन गर्दै दाहालले तत्कालीन एमाले नेतालाई पालैपालो प्रधानमन्त्री बनाएको स्मरण गराए ।

पालैपालो प्रधानमन्त्री बनाउने कुरा पार्टीको सिद्धान्त हुन नसक्ने कटाक्ष गर्दै पोखरेलले जनताको बहुदलीय जनवाद (जबज)लाई पार्टीको मार्गदर्शक सिद्धान्त मान्नुपर्ने अडान राख्न थाले । पोखरेलले जबजलाई आम कार्यकर्ताबीच लैजाने धारणा राखेपछि दाहालले आफूलाई पार्टीभित्रै ‘असुरक्षित’ महसुस गरेको हुन सक्ने नेकपा नेताहरूको तर्क छ । तत्कालीन एमालेको भावनासँग जोडिएको जबजलाई अघि सारे पूर्वमाओवादी नेतृत्व र स्वयं पनि अल्पमतमा पर्ने र भावी नेतृत्व आफ्नो हातमा आउन नसक्ने देखेर दाहाल चिन्तित थिए । पार्टी एकताका क्रममा तत्कालीन एमालेको जबज र माओवादीको २१ औं शताब्दीको जनवादबीच ‘फ्युजन’ गरेर ‘जनताको जनवाद’ मा जान नेताहरू सहमत भएका थिए ।

त्यतिखेर अध्यक्ष दाहालको निवास खुमलटारमा बसेको बैठकमा वरिष्ठ नेता माधव नेपालले जबज छाड्न नहुने अडान लिँदा अर्का नेता वामदेव गौतमले नेता नेपालविरुद्ध ‘आगो’ नै ओकलेका थिए । त्यतिबेला चुप लागेका पोखरेलले एकाएक सैद्धान्तिक स्पष्टता नभएको भन्दै जबजको कुरा उठाएपछि दाहाल क्रुद्ध बनेको उनी निकटहरू बताउँछन् । पछिल्लोपटक ओलीसँग क्रुद्ध बनेका नेता वामदेव गौतमले पनि दाहाललाई ‘दोस्रो नेता’ भनी आक्रोशित तुल्याउँदै आएका थिए । एकता नसकिँदै पार्टीभित्रबाट दाहाललाई उत्तेजित बनाउँदाको परिणामस्वरूप दाहालले ५ बुँदे खुलासा गर्दै आफ्नो स्थानको खोजी गरेको हुन सक्ने नेता बताउँछन् ।

अब के होला ?

दाहालले ५ बुँदे सहमतिको खुलासा गरेर प्रस्टता खोजे पनि त्यति सजिलै ५ बुँदे सहमति कार्यान्वयन हुने अवस्था देखिँदैन । सहमतिको चौथो बुँदामा समानता र समान अवधिका आधारमा आवश्यकताअनुरूप दुवै अध्यक्षले सरकारको नेतृत्व गर्ने उल्लेख छ । सहमतिमा समान अवधिको कुरा गरिए पनि ‘आवश्यकता’ भन्ने शब्दमाथि नेताहरू खेल्ने ठाउँ छ । तर, सोही सहमतिको तेस्रो बुँदामा एकता महाधिवेशन नहुँदासम्म पार्टीका सम्पूर्ण निर्णय विधिसम्मत र कमिटीबद्ध छलफलका आधारमा लिने तथा दुवै अध्यक्षको सहमति र हस्ताक्षरपश्चात् निर्णयको आधिकारिकता मानिने उल्लेख छ । यसले सहमति कार्यान्वयनका लागि दुवै अध्यक्षको सहमति अनिवार्यजस्तै छ । अर्को कुरा, एकतापछि पार्टीका निर्णयगत तहमा कुनै पनि पक्षको स्पष्ट बहुमत छैन ।

मुख्य गरी अध्यक्ष ओली र दाहाल तथा वरिष्ठ नेता माधव नेपालका ‘गुट’ छन् । केन्द्रीय कमिटीदेखि स्थायी समितिसम्मको अवस्था हेर्दा तीन मुख्य नेतामध्ये दुई नेता जतातिर मिल्छन्, त्यतै बहुमत पुग्ने स्थिति छ । दुई पार्टी एकता गर्दाताका पालैपालो सरकारको नेतृत्वको सहमति भए पनि तीन जना नेताको व्यवस्थापनले मात्र यसको सहज कार्यान्वयन हुने नेकपाका नेताको भनाइ छ । अन्नपूर्णपोष्टबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार