१५ दिने ‘सोलुखुम्बु ट्रेल रेस’ को उपाधी दावा र ल्हमूलाई

सन्तोष राउत/ सोलुखुम्बु । जिल्लाको पर्यटन प्रबद्र्धनका लागि पर्यटन बर्ष सन् २०२० लाई समेत लक्षित गरी भएको ‘सोलुखुम्बुु ट्रेल रेस’ को पुरुषतर्फको उपाधी नेपाली धावक दावा शेर्पाले निर्धारित दूरी २९ घण्टा ३३ मिनेटमा पूरा गर्दै जित्नुभएको छ । ओखलढुङ्गा र सोलुखुम्बुको सिमानामा पर्ने तल्लो क्षेत्र धापबाट सुरु भएको रेस आधार शिविर पुगेर पुनःतल्लो क्षेत्रको फाप्लुमा बिहीबार समापन गरिएको हो ।

रेसमा निर्धारित दुरी ३४ घण्टा ४५ मिनेटमा पूरा गर्दै फ्रेन्च नागरिक मार्क दोस्रो र ३६ घण्टा ३२ मिनेटमा दुरी पूरा गर्दै पेम्बा शेर्पा तेस्रो हुनुभएको छ । त्यस्तै, महिलातर्फ ४३ घण्टा ३० मिनेटमा दुरी पार गर्दै ल्हमू शेर्पा प्रथम, ४९ घण्टा ४५ मा दुरी पार गर्दै मिङ्मारल्हेमी शेर्पा दोस्रो र ५१ घण्टा ५६ मिनेटमा निर्धारित दुरी पूरा गर्दै पासाङल्हमू शेर्पा तेस्रो हुनुभएको आयोजक संस्था ‘द स्मल वल्र्ड’ का अध्यक्ष कर्मा शेर्पाले जानकारी दिनुभयो ।

सोलुदूधकुण्ड नगरपालिकाका मेयर नाम्गेलजाङबु शेर्पाले दौड समापन गर्दै सोलुखुम्बुको पर्यटन प्रबद्र्धनमा यसले महत्वपूर्ण भूमिका खेल्ने र भ्रमण वर्ष २०२० लाई सफल बनाउन प्रचार प्रसारमा अझै जोड दिनुपर्ने बताउनुभयो । ‘द स्मल वल्र्ड’ का अध्यक्ष कर्मा शेर्पाले यस दौडमा सहभागी विदेसी धावकलाई आफ्नो देसमा फर्केर नेपालको बारेमा सबैलाई सुनाएर नेपाल आउने बनाउन आग्रह गर्नुभयो ।

३१० किलोमिटर दूरीको दौड पुरा गर्न धावकहरु चार हजार छ सय अग्लो पिके पिक, तीन हजार पाँच सय मिटर अग्लो लामाजुरा पास, जुनबेसी, टाक्सिन्दु गुम्बा, नुम्बुर र करेलुङको फेदमा रहेको पबित्र ताल दूधकुण्ड पोखरी हुँदैै पाँच हजार चार सय मिटर अग्लो सगरमाथा क्षेत्रको रेन्जोला पास, गोक्यो भ्याली, पाँच हजार ३६४ मिटर उचाइमा रहेको सगरमाथा आधारशिविर पुगेर गोरक्सेप, लोबुचे, फेरीचे, तेङबोचे, नाम्चेबजार, लुक्ला, खरीखोला, नुनथला, टाक्सिन्दु हुँदै फाप्लु आइपुगेका हुन् ।

६२ जना विदेसी र पाँच जना नेपाली सहभागी दौडमा दुई जना विदेसी विरामी भएको र अन्य सबैले दौड पूरा गरेको दौडको संयोजक तथा पाँच पटकसम्म नेपालबाट क्रस कन्ट्री शितकालीन ओलम्पिकका सहभागी अन्तर्राष्ट्रिय धावक दाछिरी शेर्पाले जानकारी दिनुभयो । उहाँकाअनुसार ७७ वर्षका फ्रेन्च नागरिक ज्याक समेत सहभागी दौडमा अधिकांश धावकहरु फ्रान्सबाट आएका हुन् ।

दौडमा बेल्जियम, स्वीटजरल्यान्ड लयागतका यूरोपेली देशका धावक पनि सहभागी थिए । समापन कार्यक्रममा प्रहरी नायब उपरीक्षक नारायणप्रसाद चिमोरिया, पत्रकार भानुभक्त निरौला लगायतको उपस्थिती रहेको आयोजक संस्थाका प्रतिनिधि उत्रमान राईले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार