टेलिकमको सेवा गुणस्तरहीन, प्रभावकारी बनाउन जनप्रतिनिधको चासो

सन्तोष राउत/ सोलुखुम्बु । विश्वमा चिनिएको पर्यटकीय जिल्ला सोलुखुम्बुको सदरमुकाम भन्दा बाहिरका क्षेत्रमा नेपाल टेलिकमको सेवा प्रभावकारी नहुँदा सरकारले घोषणा गरेको भ्रमण वर्ष २०२० समेत प्रभावित बन्ने भएको छ । विभिन्न स्थानमा भएका टावरले काम नगर्दा महिनौँदेखि समस्या भइरहेको छ ।

जिल्लाको पर्यटकीय क्षेत्रहरु खुम्बु क्षेत्रको अधिकांस स्थान, मेरापिक क्षेत्रमा पर्ने महाकुलुङ क्षेत्र तथा जिल्लाका दक्षिणी भेगका काँगेल, नेले, पञ्चन, नेचाबतासे, नेचाबेतघारी, तिङला, मुक्ली, देउसा, सल्यानलगायतका दर्जनौँ गाउँमा नमस्ते तथा सिडिएमए प्रविधिको सेवा नियमित चल्न नसक्दा स्थानीय पर्यटन व्यवसायी तथा सरोकारवालालाई समस्या हुने गरेको छ । तल्लो सोलुमा फस्टाउँदै गएको पर्यटन व्यवसायमा सञ्चार सुविधाले सहज नभएको बताइन्छ ।

ग्रामिण क्षेत्रमा विगतदेखि नमस्ते तथा सिडिएमए प्रविधिको मोबाइल राम्रो नचल्ने, घाम लाग्दा दिउँसो एकछिन मात्र चल्ने भएपछि स्थानीयले सास्ती खेपेका छन् भने विभिन्न व्यवसाय गर्नेहरुलाई ठूलो समस्या हुने गरेको छ । सेवा अबरुद्ध भइरहँदा अति जरुरी खबर गर्न समेत समस्या भएको छ भने आन्तरिक तथा बाह्य पर्यटकले आफन्तसँग कुरा गर्न नपाउँदा निराश हुने गरेको स्थानीय बताउँछन् ।

सरकारले घोषणागरेको भ्रमण वर्षमा समेत प्रभाव पर्ने भएपछि समस्या समाधानका लागि जनप्रतिनिधिहरुले समेत चासो देखाएको छ न् । संघीय सांसद हेमकुमार राईको नेतृत्वमा, प्रदेस सांसद उत्तम बस्नेत, थुलुङदूधकोशी गाउँपालिका अध्यक्ष असिम राई, नेकपाको प्रदेस नं. १ का सदस्य महेश किरातीसहितको टोलीले नेपाल टेलिकमको केन्द्रिय कार्यालयमा पुगेर ध्यानाकर्षण गराएका छन् ।

संघीय सांसद हेमकुमार राईले जिल्लामा टेलिकमको सेवा अत्यन्तै गुणस्तरहीन भएकाले तत्काल समस्या समाधान गर्न आग्रह गरेको र जिल्लामा विगत चार वर्षदेखि निर्माण थालेर अलपत्र रहेका कतिपय रिपिटर टावर छिटो सक्न भनेको जानकारी दिनुभयो । त्यस क्रममा जिल्लाको सबै भन्दा ठूलो गाउँपालिका थुलुङ गाउँपालिकाका अध्यक्ष असिम राईले टेलिकमको लापर्वाहीका कारण स्थानीय सरकार समेत बद्नाम भइरहेकाले तत्काल समस्या समाधान नगरे जिल्ला कार्यालयमा ताालाबन्दी गर्ने बताउनुभयो ।

नयाँ टावरको काम धमाधम भइरहेको र पुनारो टावरलाई पनि अद्यावधिक गरेर समस्या समाधान गर्ने नेपाल टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले बताउनुभयो । भ्रमण वर्षलाई मध्यनजर राख्दै टेलिकमले विभिन्न भौतिक संरचना निर्माण तथा सेवा विस्तारमा तिव्रता दिएको छ, उहाँले भन्नुभयो ।

काँगेलडाँडामा रहेको नेपाल टेलिकम सोलुखुम्बुको बिटिएस टावरमा रहेको ब्याट्रीले घाम नलाग्दा काम नगर्ने भएकाले समस्या भएको नेपाल टेलिकम सालुखुम्बुले जनाएको छ । टेलिकमले गुणस्तरीय ब्याट्रीको व्यवस्था गर्न नसक्दा तथा नजिकैमा रहेको माइक्रोहाइड्रोबाट विद्युत ल्याउन कुनै चासो नगर्दा महिनौँदेखि समस्या रहेको स्थानीय बताउँछन् । टेलिकमले पैसा मात्र लिने र सेवा गुणस्तरीय नदिने गरेको उनीहरुको भनाइ छ । कतिपयले रिचार्ज गरेको पैसा फोन नै नगरी म्याद सकिने गरेको बताएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार