मेयर शेर्पाद्वारा व्यक्तिगत खर्चमा ३५ भारतीय सहित सय बढी विपन्न परिवारलाई खाद्यान्न वितरण


सन्तोष राउत/ सोलुखुम्बु । सोलुुम्बुको सोलुदूधकुण्ड नगरपालिकाका मेयर नाम्गेलजाङबु शेर्पाले व्यक्तिगत खर्चबाट सल्लेरीमा अलपत्र परेका ३५ भारतीय नागरिक र नगरपालिकाभित्रका ९४ विपन्न परिवारलाई खाद्यान्न सामाग्री वितरण गर्नुभएको हो ।

नगरपालिका क्षेत्रमा ज्याला मजदुरी गरेर जीविकोपार्जन गर्दै आएका परिवारलाई कोरोना भाइरस सङ्क्रमणको जोखिम न्यूनिकरणका लागि सरकारले गरेको लकडाउनका कारण दैनिक काम गर्न नपाउँदा खाद्यान्न अभावका कारण दैनिकी कठिन भएको अवस्थामा मेयर शेर्पाले नीजि लगानीमा खाद्यान्न सामाग्री वितरण गर्नु भएको हो ।

प्रतिपरिवार १५ केजी चामल, दाल, तेल, नुन वितरण गरिएको छ । कामको अभावमा भोकै बस्ने अवस्थामा पुगेका अति विपन्न परिवारका सदस्य भोकै बस्न नपरोस् भन्नका लागि खाद्यान्न वितरण जारी राखेको मेयर शेर्पाले बताउनुभयो । सल्लेरीमा भवन निर्माणको काम गर्दै आएका भारतीय कामदार लकडाउनका कारण अचानक काम बन्द भएर घर जान नपाएर खाद्यसङ्कटमा परेपछि सात बोरा चामल, एक बोरा दाल, आवश्यक नुन र तेल उपलब्ध गरिएको हो ।

मेयर शेर्पाले यसअघि सामाजिक सञ्जाल फेसबुकमा लकडाउन अवधिमा खाद्यसङ्कट भए टेलिफोन गर्न व्यक्तिगत फोन नम्बर दिनुभएको थियो । सङ्कटको समयमा कोही पनि व्यक्ति वा परिवार भोकै बस्ने अवस्था नआओस् भन्नका सहयोग गरेको भन्दै मेयर शेर्पाले यो बेला भएकाले नभएकालाई सहयोग गर्ने बेला भएको बताउनुभयो ।

कामदार तथा विपन्न परिवारका सदस्यले राहत महसुस गरेका छन् । दैनिक मजदुरी गरेर घरखर्च चलाउँदै आएका श्रमिकहरुले १० दिनसम्म काम गर्न नपाउँदा विहान बेलुका छाक टार्नै समस्या भएको अवस्थामा खाद्य सामाग्री पाएपछि राहात मिलेको बताएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार