काङ्ग्रेसद्वारा आठै तहमा ‘कोरोना पीडित तथा वेरोजगार राहत कोष’ स्थापना

सोलुखुम्बु । नेपाली काङ्ग्रेस सोलुखुम्बुले जिल्ला व्यापी रुपमा शुरु गरेको ‘कोरोना पीडित तथा वेरोजगार राहत कोष’ आठै वटा स्थानीय तहमा स्थापना गरी पहिलो चरणको अभियान सम्पन्न गरेको छ ।

कोरोना कहरपछिको सम्भावित समस्या समाधानका लागि कोष स्थापनाको अभियान लिएर विऊ पुँजी वितरणको अभियान थालेको काङ्ग्रेसले पछिल्लो पटक सोलुदूधकुण्ड नगरपालिकामा कोष स्थापनार्थ रकम हस्तान्तरण गरेपछि सकिएको हो ।

असार २ गते जिल्लाको नेचासल्यान गाउँपालिकाबाट शुरु गरिएको अभियानको सात वटै गाउँपालिका र एक नगरपालिकामा पुगेर काङ्ग्रेसले विउ पुँजी बापतको ५० हजार रुपियाँ रकम हरेक स्थानीय तहलाई हस्तान्तरण गरेको काङ्ग्रेस नेता तथा पुर्व पार्टी सभापति आङगेलु शेर्पाले जानकारी दिनुभयो ।

काङ्ग्रेसले तत्कालीन, अल्पकालीन र दिर्घकालीन योजना सञ्चालनको सुझाव सहित कोष स्थापनाको अभियान बोकेर हरेक स्थानीय तह पुगेका काङ्ग्रेसका नेताहरुलाई स्थानीय सरकार प्रमुखहरुले सकारात्मक रुपमा लिएको सल्लेरीमा आयोजित पत्रकार सम्मेलनमा शेर्पाले जानकारी गराउनुभयो ।

नेपाल प्रेस यूनियन सोलुखुम्बुको आयोजनामा भएको सम्मेलनमा शेर्पाले काङ्ग्रेसले सञ्चालन गरेको अभियानले सहकार्यको राजनीति र विपदमा मिलेर अघि बढ्नुको विकल्प नभएको सन्देश प्रवाह गरेको बताउनुभयो । सबै स्थानीय तहले कोष स्थापना, कोषको वृद्धि र परिचालनको प्रतिबद्धता जनाएकाले कोष निर्माण र परिचालनका सवालमा सञ्चारमाध्यम र पत्रकारले निरन्तर खोजीनीति गर्नुपर्ने उहाँको आग्रह छ ।

अभियानका प्रवक्ता तथा युवा नेता गणेश बस्नेतले प्रेस विज्ञप्ती प्रस्तुत गर्नुभएको पत्रकार सम्मेलनमा काङ्ग्रेस प्रदेश सभा ‘ख’ सभापति कर्मा शेर्पा, सोलुदूधकुण्ड नगरपालिकाका मेयर नाम्गेलजाङबु शेर्पा, काङ्ग्रेस महाधिबेशन प्रतिनिधि सरला नाछिरिङ, सोलुखुम्बु बहुमुखी क्याम्पसका प्रमुख उद्धवकुमार शर्मा, काङ्ग्रेस सोलुदूधकुण्ड नगरपालिकाका सभापति तथा वडा नं. ४ का वडा अध्यक्ष दावागेलु पाख्रिन ‘राजु’, अभियानका संयोजक तथा नगर कार्यपालिका सदस्य सोनामग्याल्जेन शेर्पा लगायतका जनप्रतिनिधि, पत्रकार तथा नेताहरुको उपस्थिती रहेको थियो

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार