हिमाल आरोहणको ‘बोहनी’ गर्न बहराइनका राजकुमारको टोली खुम्बुमा

सन्तोष राउत/सोलुखुम्बु। नेपालका हिमाल आरोहणका लागि आउनुभएका बहराइनका राजकुमारको टोली बिहीबार सोलुखुम्बुको तेन्जिङ हिलारी विमानस्थ लुक्लामा आइपुगेको छ । टोलीले सोलुखुम्बुको ६११९ मिटरको उचाइ रहेको लुबुचे हिमाल आरोहण गर्ने छ ।

बहराइनका राजकुमार नासिर बिन हमाद अल खलिफाको १५ सदस्सीय टोली र तीन बेलायती नागरिकको टोली लुक्ला पुगेको नेपाल नागरिक उड्डयन कार्यालय लुक्लाका प्रमुख मुकेशराज दाहालले जानकारी दिनुभयो । राजकुमारसहितका पाँच जना हेलिकोप्टरबाट लुक्ला प्रस्थान गरेका हुन् । गाइड, टोली नेता, सम्पर्क अधिकृत गरी करिब २१ जना थप टोलीमा समावेश गरेर लोबुचे हिमाल आरोहण गर्ने कार्यक्रम रहेको बताइएको छ ।

टोलीका अन्य सदस्य, पथप्रदर्शक तथा अन्य सहयोगी भने दुई वटा जहाजबाट लुक्ला पुगेका छन् । टोली बिहीबार लुक्ला नजिक रहेको फाक्दिङमा बस्ने बताइएको छ । नेपालमा कोरोना महामारीपछि विदेशबाट हिमाल आरोहण गर्न आएको यो पहिलो टोली हो ।

टोलीले नेपालको लोबुचे र मनास्लु हिमाल आरोहणको अनुमति लिएको छ । टोलीका पत्रकार, भिडियो ग्राफर सहितको टोली लुक्लाको मौसम खराबीका कारण फाप्लु विमानस्थलमा मौसम खुल्ने पर्खाइमा रहेको फाप्लु विमानस्थलका प्रमुख प्रकाश शर्माले जानकारी दिनुभयो ।

भदौ ३१ गते नेपाल आएको टोली गोकर्ण फरेस्ट रिसोर्टको क्वारेन्टिनको बसाईपछि कोरोना जाँचको रिपोर्ट नेगेटिभ आएपछि लुक्ला आएको हो । लोबुचे हिमाल आरोहणको प्रतिव्यक्ति राजस्व १२५ अमेरिकी डलर तोकिएको छ । राजकुमारको टोली सेभेन समिट ट्रेक मार्फत ११ दिनमा लोबुचे आरोहण गरी फर्किने कार्यक्रम छ ।

नेपाल सरकारले निर्धारण गरेका स्वास्थ्य तथा सुरक्षासम्बन्धी मापदण्डको पूर्ण पालना गरेर पर्वतारोहण गर्न विभागको निर्देशन छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार