सगरमाथा क्षेत्रमा हिमपात, आरोही उद्धारमा कठिनाइ, आरोहीलाई फिर्ता बोलाउन गृहको आग्रह


सोलुखुम्बु । सगरमाथा क्षेत्रमा मङ्गलबारदेखि भारी हिमपात हुँदा आरोहण प्रभावित भएको छ । मौसममा खराबी आएसँगै बाक्लो हिउँ परेपछि आरोहीहरुको उद्धारमा समेत समस्या भएको हो ।

आरोहणका लागि चौथो आधार शिविरसम्म पुगेका सबै जना आरोहण स्थगित गरेर दोस्रो शिविरमा फर्किए पनि त्यहाँबाट उनीहरुलाई आधारशिविरसम्म झार्न समस्या भएको आधारशिविरबाट सम्पर्क अधिकृत खिमलाल गौतमले बताउनुभयो । अहिले तीन दर्जन भन्दा बढी आरोही र सहयोगी समेत गरी एक सय जना भन्दा बढी दोस्रो आधार शिविरमा अड्किएका छन् ।

आरोहण सफल गरेर फर्किएका केही आरोहीहरु घाइते भएको र उनीहरुको उद्धारको लागि मौसम प्रतिकुलता कै कारणले हेलिकप्टर समेत पठाउन नसकिएको बताइएको छ ।

आधारशिविरबाट दोस्रो आधारशिविरमा रहेका सामान तल झार्नका लागि उच्च हिमाली कामदारहरु समेत उकालो जान नसकेको सम्पर्क अधिकृत गौतमको भनाइ छ । अहिलेसम्म दुई सय बढीले यो सिजनमा आरोहण गरिसकेका छन् ।

चक्रवात उत्तर–उत्तरपश्चिम सर्ने क्रममा मङ्गलबारदेखि शक्तिशाली चक्रवातमा परिणत भएको र बुधबारसम्ममा थप शक्तिशाली हुने जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले प्रक्षेपण गरेको छ ।

यसैबिच, गृह मन्त्रालयको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले हिमाल आरोहणमा गएका पर्वतारोहीलाई तत्काल फिर्ता बोलाउन आग्रह गरेको छ । अबको तीन दिन बाढी पहिरो र उच्च वर्षाको साथै हिमपातको सम्भावना रहेकाले हिमाल आरोहणमा गएकाहरुलाई फिर्ता बोलाउन सरोकारवाला निकायसँग आग्रह गरेको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार