फुर्के पोखरीले पायो पुनर्जिवन

सन्तोष राउत/सोलुखुम्बु । सुख्खाग्रस्त बनेको सोलुखुम्बुको तल्लो क्षेत्रको नेचासल्यान ४ मा रहेको फुर्के पोखरीले पुनर्जिवन पाएको छ । ग्रामिण विकास संस्था काभ्रेपलाञ्चोक मार्फत लक्जमबर्ग अन्तर्राष्ट्रिय जलवायु कोष र म्याङग्रोव फाउण्डेशनबाट २७ लाख ३० हजार रुपियाँको लागत तथा नेचासल्यान गाउँपालिकाको समन्वयमा सोलुवाट्री परियोजना अन्तरगत पोखरीको पुननिर्माण तथा पुनभरण गरिएको हो ।

यो पोखरी कसले र कहिले खनेको भन्ने यकिन नभएपनि जब त्यस क्षेत्रमा पशुपालन शुरु भयो त्यस बेलादेखि गाईवस्तुलाई पानी खुवाउनको लागि खनिएको हुनसक्ने स्थानीय बताउँछन् । पछि सामूदायिक वन गठन भएर चरिचरण बन्द भएपछि विस्तारै पोखरी संरक्षणको अभावमा सुक्दै गएको बताइएको छ ।

सोलुखुम्बुमा धार्मिक तथा पर्यटकीय हिसाबले महत्वपूर्ण यस्ता दर्जनौँ पोखरी भए पनि कतिपय संरक्षणको अभावमा सुख्खाग्रस्त अवस्थामा छन् भने कतिपय पोखरी स्थानीय तह तथा स्थानीय समूदायले संरक्षण गर्न थालेका छन् ।

नेचासल्यान गाउँपालिकामा पर्यावरणीय सन्तुलन तथा जलवायु परिवर्तनमा कमी ल्याउँदै दिगो विकासमा टेवा पु¥याउने उद्देश्यले वन विस्तार, पोखरी संरक्षण र प्राङ्गरिक कृषिका क्षेत्रमा काम गर्न थालेको ग्रामिण विकास संस्थाले पहिलो चरणमा फुर्के पोखरी तयार गरेको छ ।
तीन वर्षमा गाउँपालिकाको समेत २५ प्रतिशत लगानी रहने गरी करिब तीन करोड ५८ लाख रुपियाँको लागतमा जलवायु अनुकुलन कार्ययोजना तयार पारी गाउँपालिका भित्र वातावरण संरक्षणका विभिन्न काम गर्ने बताइएको छ ।

गाउँपालिकालाई हरियाली बनाउँदै आन्तरिक पर्यटनको समेत प्रबद्र्धनमा यसले मदत पु¥याउने गाउँपालिका अध्यक्ष डुफकुमार बास्तोलाले बताउनुभयो । खेलमैदान बनाउन लागिएको पोखरीमा अहिले पानी पुर्नभरण भएपछि नेचा क्षेत्रको सुन्दरता थपिएको उहाँको भनाइ छ ।

यस संस्थाको समन्वयनमा तीन वर्षमा पालिकाभित्रका सुकेपोखरी, भेडीखोर पोखरी, तीनकन्या पोखरी सहित पाँच वटा पोखरीलाई पुनर्जिवन दिने र अन्य धेरै काम गर्दै नमुना गाउँ बनाउने अध्यक्ष बास्तोलाले जानकारी दिनुभयो । यस्ता किसिमका काम गर्नका लागि पालिकाले निरन्तर सहयोग गर्ने प्रतिबद्धता उहाँको छ ।

गैसरकारी संस्था, गाउँपालिका र जनप्रतिनिधि बिचको सहकार्यले पोखरी पुर्नभरण भएको र यसलाई पर्यटनको हबका रुपमा विकास गर्नुपर्ने स्थानीय आग्रह छ । पालिकालाई समृद्ध बनाउनका लागि यस परियोजनाले मद्धत पुरयाउने स्थानीय धनकुमार ढुंगेलको आशा छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार