राजनैतिक छलाङ् मारेका असिम राईको यस्तो छ पाँच वर्षे कार्यकाल

२०७४ सालको स्थानीय चुनावमा ३३ वर्षे ठिटो टिकट लिएर स्थानीय सरकार प्रमुखको लागि चुनावी मैदानमा होमियो । त्यो पनि पालिकामा तेस्रो संगठन भएको पार्टी माओवादी केन्द्रबाट । पढेलेखेको र जोसिलो युवा असिम राईलाई पालिकाको चुनाव जित्नु फलामको चिउरा चपाउनु सरह थियो । दरिलो संगठन भएको पार्टी नेपाली काँग्रेसभित्रको आन्तरिक विभाजन र वागी उम्मेदवारले असिमलाई पालिका अध्यक्षको कुर्सीमा पु¥यायो । त्यसपछि उनले स्थानीय सरकार र पार्टी दुवैतिर आफ्नो पक्कड दरिलो पार्न थाले । सोलुदूधकुण्ड नगरपालिकापछि दोस्रो मतदाता रहेको र राजनैतिक सुझबुझपूर्ण पालिकामा आफ्नो नीति कार्यक्रम लागू गर्नु आफँैमा जटिल थियो । विकासमा ठूला ठूला सपना देख्ने उनलाई कार्यस्थल बनाउनु नै पहिलो चुनौती थियो । यो पङ्तिकार उनी निर्वाचित हुना साथ मुक्लिमा रहेको पालिकामा पुग्दा गाविसको जिर्ण भवन, एउटै कोठामा चिया पकाउने ग्यास चुल्होदेखि अध्यक्ष, उपाध्यक्ष अनि सबै प्रशासनिक कर्मचारीहरु कोचिएर काम गरेको देखिएको थियो । तर उनले आफ्नो अब्बल क्षमता प्रदर्शन गरी पालिकाका नाममा निःशुल्क जग्गा ग्रहण गरेर पालिकाको आफ्नै सुविधा सम्पन्न भवन बनाए त्यो पनि एक बर्षभित्रै । अनि शुरुवात भयो विकासको श्रृंखला ।

पालिकामा बैंक स्थापना गर्नु, जनताको जिउधनको रक्षाको लागि प्रहरी चौकी स्थापना गर्नु, अनि स्वास्थ्य चौकीहरुलाई स्तरीय बनाउनु उनको दोस्रो काम हो । पालिकाको केन्द्र र नाम बेलैमा टुंग्याएका उनले अन्य भौतिक विकासको रफ्तारलाई कहिल्यै रोकेनन् । पालिकामा प्रदेश र संघीय सरकारमार्फत योजना भित्र्याउनका लागि उनको दौडधुप कम थिएन । पालिकामा प्राविधिक शिक्षालयको स्थापना गरी पठनपाठन शुरुवात गराउनु, कृषि परियोजना भित्र्याई नगदे बालीमा कृषकहरुलाई अनुदान दिनु अनि जनताको सहजताको लागि टोलटोलमा मोटरबाटो पु¥याउन सक्नु उनको तेस्रो सफलता हो । मुक्लिमा ईन्जिनियरिङ विषय मात्र नभएर लोखिममा कृषि धारको पढाई थालनी गर्नु पनि शैक्षिक जगतमा उनको सफलता हो । यही महिनाभित्र सम्पन्न हुने गरी पालिकाको पक्की भवन बन्दै छ भने प्रहरी चौकीलाई पक्की भवन बनाएर स्थानान्तरण गराई सकेका छन् ।

खेलकुद मैदान निर्माण, सुकेपोखरीलाई पर्यटकीय क्षेत्र निर्माणका लागि करोडौँको बजेट भित्र्याउनु उनको अर्को सफलता हो । गाउँमा टेलिफोनको नेटवर्क पुर्याउन टेलिकम टावरहरु स्थापना गर्नु, हरेक वडा, विद्यालय र स्वाथ्य चौकी तथा प्रहरी चौकीहरुमा दु्रत गतिको ईन्टरनेट सेवा पुर्याई प्रविधिमा आधारित सेवा दिलाउन उनी शुरुवातको पहिलो बर्षमै सक्षम भएका थिए । पालिका, प्रदेश तथा संघीय सरकारको समन्वयमा मोटरेबल पुल निर्माणको थालनी पनि उनले आफ्नै कार्यकालमा गर्न सकेका छन् । स्थानीय शिक्षा ऐन जारी गरी अदालतसम्म पुगे पनि मुद्दा जितेर शिक्षा ऐन लागु गराई छाडेका उनलाई आस्थाका आधारमा शिक्षक शुरुवा गरेको भनेर विपक्षी पार्टीहरुले भने कडै आलोचना गरिरहेका छन् । उनी भने बिषय शिक्षकको व्यवस्थापनका लागि सरुवा जरुरी रहेको जिकिर गर्छन् ।

सरकार प्रमुख नहुँदा पार्टीको जलविद्युत विभागको जिम्मा पाएका उनका लागि निर्वाचित भईसकेपछि पालिका क्षेत्रमा रहेका अरबौँ लगानीका जलविद्युत आयोजनालाई बसमा राख्न धेरै नै सहज बन्यो । जलविद्युत आयोजनालाई सामाजिक उत्तरदायीत्वको बजेट र कार्यक्रमहरु आफ्नो अनुकुल कार्यान्वयन गर्न उनी चतुर ठहरीए ।

राई गाउँमा महायज्ञ, जसले बनायो करोडौँको अस्पताल

थुलुङदूधकोशी जातीय हिसाबले राइहरुको बाहुल्यता रहेको क्षेत्र हो । त्यहाँ पण्डित ल्याएर महायज्ञ सफल पार्नु आफैँमा चानचुने कुरा थिएन । यस्तो अवस्थामा पनि पण्डित दिनबन्धु पोखरेल ल्याएर सप्ताह ज्ञान महायज्ञ चलाउन सफल भए असिम राई । केवल धर्मकर्म र भजन कृतन मात्रै भएन पुराणमा, त्यहाँ त दूधकोशी सामुदायिक अस्पताल बनाउनका लागि जनस्तरबाट करोडौँको रकम सङ्कलन भयो । स्थानीयले हजार रुपिँयादेखि बिसौँ लाखसम्म महायज्ञमा चढाए, अस्पताल बनाउनका लागि । नेतृत्व क्षमता र छिटो माहोल बुझ्न सक्ने चातुर्यता भएका उनी एक नम्बर प्रदेशको गाउँपालिका महासंघको कोषाध्यक्ष बने । अनि शुरुवात भयो उनको माथिल्लो तहको सरकारका पदाधिकारीसँगको हिमचिम । छोटो समयमा प्रदेशका अर्थमन्त्री ईन्द्रआङ्बोलाई हात लिन सफल उनले प्राविधिक शिक्षालय, दूधकोशी सामुदायिक अस्पताल, सडक र खेलमैदानका लागि बजेट ल्याउन सफल भए । नेकपा माओवादी र नेकपा एमाले मिलेर नेकपा बनेपछि तत्कालीन मुख्यमन्त्री शेरधन राईबाट पनि उनले धेरै नै काम लिन सफल भए । फलस्वरुप अहिले दूधकोशी सामुदायिक अस्पतालको सुविधा सम्पन्न भौतिक संरचना बनिसकेको छ ।

जिल्ला सदस्य हुँदै पार्टी अध्यक्ष सम्मको यात्रा…

उनका लागि यो पाँच बर्ष राजनैतिक जीवनमा पनि निकै फलिफापपूर्ण रह्यो । जनप्रतिनिधि निर्वाचित हुनुअघि जिल्ला कमिटी सदस्य रहेका असिम यही पाँच बर्षमा प्रदेश कमिटी सदस्य हुँदै पार्टीको जिल्ला अध्यक्ष नै बने । यति मात्रै होइन अर्थमन्त्री नेतृत्वको अर्थ समितिको सदस्य समेत अघल्लिो बर्ष नै बन्ने मौका पाए । देशभरका स्थानीय सरकारका प्रमुखहरु मध्येबाट उनी नै अर्थमन्त्री जनार्दन शर्माको रोजाईमा परे । अनि पार्टीभित्र जनार्दन शर्मासँग उनको सम्बन्ध विस्तार भयो । पार्टी नेतृत्वसँग सिधा पहुँच स्थापित गर्ने मौका मिल्यो असिमलाई । पाँच बर्ष अगाडी पार्टी नेतृत्वबाट एउटा टिकट लिएर राजननीति शुरु गरेका उनले पाँच बर्षपछि जिल्लाभरीका टिकट वितरण गर्ने निर्णायक भूमिकामा पुगे अनि आफूले चाहेका मान्छेलाई टिकट दिलाउन सफल भए ।

उनी अब फेरी एक पटक पालिकाको नेतृत्वमा दोहोरिनका लागि चुनावी मैदानमा छन् । सामुदायिक अस्पतालको सुसञ्चालन, पालिका केन्द्र र अन्य रणनीतिक सडकहरु कालोपत्रे गर्ने, नगरिकहरुलाई सहज सेवा प्रदान गर्ने, बाँकी रहेका भौतिक विकासलाई पूर्णता दिई ग्रामिण अर्थतन्त्रलाई मजबुद बनाउने उनको प्राथमिकता छन् । उनले पालिकालाई नेपालकै नमुना बनाई जनताको जीवनस्तर उकासी आफुले माथिल्लो फड्को मार्ने बताउने गरेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार