थुलुङ दुधकोशीमा कांग्रेसले जित्नेमा उम्मेदवार गुरुङ ढुक्क

आसन्न बैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनमा राजनीतिक दल र दलका उम्मेदवार चुनावी सभा र मतदाता भेटमा घरदैलो गर्दैछन् । २०७४ को निर्वाचनमा नेकपा माओवादी केन्द्रले जितेको सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिकामा नेपाली कांग्रेसलाई जिताउने जिम्मेवारी वीर बहादुर गुरुङले पाएका छन् ।

थुलुङ दुधकोशीमा गुरुङको नेतृत्वमा कांग्रेस चुनावी मैदानमा छ । अघिल्लो निर्वाचनमा टिकट नपाएपछि स्वतन्त्र उम्मेदवार बनेका गुरुङलाई त्यसबेला पार्टीलाई हराउन भूमिका खेलेको आरोप मेटाउने अवसर मिलेको छ ।

२०४७ सालमा कांग्रेसको क्रियाशील सदस्य बनेर राजनीति शुरु गरेका सोलुखुम्बु नेलेका वीर बहादुर गुरुङ नेपाल विद्यार्थी संघको जिल्ला उपाध्यक्ष हुँदै अध्यक्ष बने । विश्व प्रकाश शर्माको अध्यक्षकालमा नेविसंघको केन्द्रीय सदस्य बनेका गुरुङले जिल्ला पार्टीमा संगठन विभागका सचिव पनि बनेर काम गरेको अनुभव छ ।

कांग्रेसको १२ औँ महाधिबेशनमा प्रतिनिधि बनेका उनले राजनीतिक सक्रियता रोकेका छैनन् । उहि गुरुङ थुलुङ दुधकोशी गाउँपालिकाको अध्यक्षका उम्मेदवार हुन् । कांग्रेसले उपाध्यक्षमा लामो समय महिलाको सशक्तिकरणमा काम गरेका एक कुमारी बस्नेतलाई अघि सारेको छ ।

२०७४ मा थुलुङ दुधकोशी १, ३, ४ र ६ मा कांग्रेसका उम्मेदवार विजयी बनेको थियो । वडा नं २ काँगेलमा एमालेका उम्मेदवार विजयी बनेको थियो भने वडा नं ५, ७, ८ र ९ मा नेकपा माओवादी केन्द्रका उम्मेदवारले जित हात पारेका थिए ।

अघिल्लो निर्वाचनमा कांग्रेसबाट अध्यक्षका उम्मेदवार हुत्तराज बस्नेत पराजित हुदा उपाध्यक्षको उम्मेदवार सविता राई विजयी बनेकी थिइन् । अध्यक्षमा माओवादी केन्द्रबाट असिम राई विजयी बने ।

यो अवस्थाबाट पालिकाको नेतृत्व कांग्रेसको पोल्टामा पार्न कांग्रेस एकढिका बनेर चुनावी प्रचारमा लागि परेको अध्यक्षका उम्मेदवार गुरुङको भनाई छ । ‘अघिल्लो निर्वाचनमा नेतृत्वको सुझबुझ नपुग्दा समस्या भयो । यो पटक यसअघिका तितामिठा विर्सेर कांग्रेस जिताउन लागि परेका छौँ ।’उनले भने, ‘चुनावी प्रचारमा गाउँ, टोल, घर पुग्दा कांग्रेसको पक्षमा मतदाता खुलेका छन् । परिणाम कांग्रेसको पक्षमा आउँछ ।’

चुनावी प्रतिस्प्रर्धा माओवादी केन्द्रसँगै रहेको बताउने गुरुङ पालिकाको नेतृत्व कांग्रेस उम्मेदवारको पोल्टामा आउने दाबी गर्छन् । भन्छन्, ‘एक्ला एक्लै लड्ने सहमति अनुसार मित्रवत प्रतिस्प्रर्धामा छौँ । माओवादीका नेताहरुले कांग्रेसलाई बचन लाएपनि हामी जवाफ फर्काएर तिक्तताको माहौल सृजना गर्ने पक्षमा छैनौ । सालिन प्रकारले निर्वाचन लडेर जित निकाल्छौ । त्यसमा हामी ढुक्क छौँ ।’ यो पटक वडामा पनि जित संख्या बढ्ने अध्यक्षका प्रत्यासी गुरुङले बताए ।

कांग्रेसलाई जिताउन निवर्तमान सभापति विनोद बस्नेत, नेताहरु हुत्तराज बस्नेत र जीवन गुरुङ लगायतका नेताहरु चुनावी प्रचारमा खटेका छन् । थुलुङ दुधकोशीमा नेकपा एमालेले अधिवक्ता आङबाबु राई र कल्पना गिरी बस्नेतलाई पालिका अध्यक्ष र उपाध्यक्षको उम्मेदवार बनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार