आफ्नो सेवा सुविधाबाट एकजनालाई एमबिबिएस पढाउने गाउँपालिका अध्यक्षको घोषणा

सोलुखुम्बु । दोस्रो कार्यकालका लागि पदभार ग्रहण गर्दै सोलुखुम्बुको थुलुङ दूधकोशी गाउँपालिका अध्यक्ष असिम राईले आफूले पालिका अध्यक्षको हैसियतले प्राप्त गर्ने सेवा सुविधालाई चिकित्सक उत्पादनका लागि खर्च गर्ने घोषणा गर्नुभएको छ ।

अघिल्लो कार्यकालमा लोकप्रिय काम गरेका कारण जनताले अर्को कार्यकालका लागि विजय गराएपछि अध्यक्ष राईले पालिकाभित्रका जेहेन्दार गरिब परिवारका विद्यार्थीहरु मध्येबाट एमबिबिएस अध्ययनका लागि सहयोग गर्ने घोषणा गर्नुभएको हो ।

स्थानीयस्तरकै जनशक्तिबाट चिकित्सक उत्पादन गर्ने यस्तो निर्णयले पालिकामा अघिल्लो कार्यकालमा राईले निर्माण थालेर अन्तिम चरणमा पुगेको सुविधा सम्पन्न अस्पतालमा दक्ष चिकित्सकको व्यवस्थाका लागि समेत सहज हुने छ ।

तयस्तै, उहाँले पालिकाबासीको सहजताका लागि वातावरणमैत्री विद्युतीय बस सञ्चालन गर्ने र त्यसका लागि ठाउँठाउँमा चार्जिङ स्टेशन निर्माण गर्ने अर्को महत्वकांक्षी निर्णय समेत गर्नुभएको छ । पछिल्लो समय अत्यधिक बढिरहेको पेट्रोलियम पदार्थको मूल्य र वातावरणलाई समेत प्रदूषित बनाएको भन्दै अध्यक्ष राईले अबको कार्यकालको पहिलो काम नै विद्युतीय गाडी सञ्चालनलाई जोड दिइने बताउनुभयो ।

गाउँपालिकको सबै वडा तथा टोलमा सडक विस्तार भइसकेको र केही सडकलाई आवश्यकताअनुसार स्तरोन्नती गर्दै विद्युतीय बस सञ्चालनका लागि पालिका तयार रहेको उहाँले दाबी गर्नुभयो ।

उहाँले अघिल्लो कार्यकालमा निःशुल्क जग्गा ग्रहण गरेर पालिकाको आफ्नै सुविधा सम्पन्न भवन निर्माण, पालिकामा बैंक स्थापना, प्रहरी चौकी स्थापना तथा पक्की भवन बनाएर स्थानान्तरण, स्वास्थ्य चौकी निर्माण, पालिकाको केन्द्र र नामको टुंगो, विभिन्न भौतिक विकास, प्राविधिक शिक्षालयको स्थापना तथा पठनपाठन शुरु, पालिकाको पक्की भवन निर्माणको शुरुवात, खेलग्राम निर्माण, सुकेपोखरीलाई पर्यटकीय क्षेत्र निर्माणको कामको शुरुवात,गाउँमा टेलिफोनको टावरको स्थापना, पालिका, प्रदेश तथा संघीय सरकारको समन्वयमा मोटरेबल पुल निर्माणको थालनी, महायज्ञबाट करोडौँको दूधकोशी सामुदायिक अस्पताल निर्माणलगायतका जनप्रिय काम गरिसक्नु भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार