जिसस प्रमुख निरौलाले गरे सपथ र पदभार ग्रहण

जिल्ला समन्वय समिति सोलुखुम्बुका प्रमुख कृष्ण प्रसाद निरौलाले सपथ ग्रहण गरेका छन् । मुख्य जिल्ला निर्वाचन अधिकृत सन्तोष पराजुलीले आईतबार समन्वय प्रमुख निरौलालाई सपथ ग्रहण गराएका हुन् ।

सपथ ग्रहणपछि निरौलाले समन्वय उपप्रमुख टिकामाया मगर र सदस्यहरुलाई सपथ ग्रहण गराएका छन् । सदस्यमा नारायणकुमार निरौला, धर्मध्वज बस्नेत, पेम्बा शेर्पा, सोमराज केसी, हिरामाया विक, सितामाया बस्नेत र कमला नाछिरिङ निर्विरोध निर्वाचित भएका छन् ।

बैशाख ३० मा सम्पन्न स्थानिय तहको निर्वाचनमा ८ वटा स्थानिय रहेको जिल्लामा ५ वटा स्थानिय तहमा काँग्रेसले जित हाँसिल गरेको थियो । सोही अनुसार जिल्ला समन्वय समितिमा काँग्रेसले एकल समिति बनाएको हो । साथै आजै जिल्ला समन्वय समितिका प्रमुख तथा उपप्रमुखले पदभार ग्रहण गरेका छन् ।

हिमाल एफ.एफ सँग कुराकानी गर्दै जिल्ला समन्वय समितिका प्रमुख निरौलाले संघ, प्रदेश र स्थानिय तहसँग समन्वय गरि विकास र समृद्धिको यात्रालाई पुर्णता दिने बताए । सोही अवसरमा जिल्ला समन्वय समितिका निर्वतमान प्रमुख वीरकुमार राई लगायतको टिमलाई पनि विदाई गरिएको छ ।

कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रिय सदस्य आङगेलु शेर्पा, सोलुदुधकुण्ड नगरपालिकाका मेयर नाम्गेल जाङबु शेर्पा, प्रमुख जिल्ला अधिकारी अनिल खनाल, सुरक्षा निकायका प्रमुख, स्थानिय तहका जनप्रतिनिधि लगायतको उपस्थिती रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार