सोलुुखुम्बुका पत्रकार निरौलालाई ‘टान जर्नालिजम अवार्ड’

सन्तोष राउत/सोलुखुम्बु । सोलुखुम्बुबाट विगत १५ वर्षदेखि नियमित पत्रकारितामा क्रियाशिल विश्व किर्तिमानी पत्रकार भानुभक्त निरौला ‘टान जर्नालिजम अवार्ड’बाट सम्मानित हुनुभएको छ ।

‘पर्यटन प्रबर्धन र जलवायु परिवर्तनको असर’ विषयमा विश्वकै लामो रेडियो अन्तरवार्ता लिएर गिनिज बुक अफ वल्र्ड रेकर्डस्मा किर्तिमान बनाउनुभएका निरौलालाई ट्रेकिङ एजेन्सीज एसोसिएशन अफ नेपाल (टान)को बार्षिक साधारण सभा तथा अधिबेशनको अवसरमा पर्यटन प्रर्वद्धनमा गरेको योगदानको कदर गर्दै सम्मान गरिएको हो ।

राजधानीमा सोमबार आयोजित कार्यक्रममा पर्यटन मन्त्री जीवनराम श्रेष्ठ र टानका अध्यक्ष खुम सुवेदीले पत्रकार निरौलालाई नगद र ताम्रपत्रले सम्मान गर्नुभएको हो ।

पर्यटकीय हिमाली जिल्ला सोलुखुम्बुबाट स्थानीय हिमाल एफ.एम.को प्रबन्ध निर्देशकका रुपमा कार्यरत पत्रकार निरौलाले पछिल्लो समय जिल्लाबाटै कान्तिपुर दैनिक पत्रिका र कान्तिपुर टेलिभिजनमा जिल्ला समाचारदाताका रुपमा काम गरिरहनुभएको छ ।

सम्मानपछि प्रतिक्रिया दिँदै निरौलाले पर्यटन क्षेत्रमा विश्वमा अझै चिनाउँदै मुलुकको समृद्धिका लागि सोलुखुम्बु तथा देसकै पर्यटकीय गतिविधिमा कलम चलाउन थप हौसला मिलेको बताउनुभयो ।

हिमाली पर्यटनमा परिचित सोलुखुम्बुका हिमालहरुलाई विश्वव्यापी रुपमा बढिरहेको तापक्रमबाट जोगाउनु पर्यटनको मुख्य चुनौती रहेको भन्दै निरौलाले यसमा सरकारले चासो राख्नुपर्ने सुझाउनुभयो ।

विश्वको सर्वोच्च शिखर सगरमाथा हिमाललगायत महत्वपूर्ण पर्यटकीय सम्पदा रहेको नेपालमा पर्यटन क्षेत्रलाई चलायमान गराउँदै जलवायु परिवर्तनको असर न्युनीकरणका लागि विश्वको ध्यान आकर्षित गर्ने उद्देश्यले पर्यटनविद् आङफिन्जो शेर्पासँग लगातार २५ घण्टा २६ मिनेट लामो अन्तरवार्ता गरिएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार