निर्वाचनमा शिक्षकलाई तह र श्रेणी अनुसार नखटाएकोमा ध्यानाकर्षण

सोलुखुम्बु  । नेपाल शिक्षक महासंघ सोलुखुम्बु लगायत शिक्षकका विभिन्न पेशागत संघ संगठनले तह र श्रेणी अनुसारको काममा खटाउन मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई ध्यानाकर्षण गराएको छ ।

महासंघ सोलुखुम्बुका अध्यक्ष लाल प्रसाद बास्तोला, नेपाल शिक्षक संघका कार्यबहाक अध्यक्ष मदनकुमार राई, नेपाल राष्ट्रिय शिक्षक संगठन सोलुखुम्बका अध्यक्ष टंकप्रसाद दाहाल, एकिकृत अखिल नेपाल शिक्षक संगठनका अध्यक्ष तिलकबहादुर राई र नेपाल शिक्षक महासंघ सोलुखुम्बुका सचिव कुमार राउतले हस्ताक्षर गरेको ध्यानाकर्षण पत्रमा मंसिर ४ मा हुने प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा खटाईएका शिक्षकलाई समान तह र श्रेणी अनुसारका कर्मचारी भन्दा कनिष्ठ हुने गरि सिफारिस गरी खटाईएको विषयमा आपत्ति जनाईएको छ ।

शिक्षकहरुप्रति अपमानजनक व्यवहार भएको भन्दै निर्वाचनमा तोकिएको काममा सहभागी हुन नसक्ने जनाएको छ । प्रावि शिक्षक तृतियलाई खरिदार सरह, प्रावि शिक्षक द्धितिय र निमावी तृतीयलाई नायब सुब्बा सरह, प्रावि शिक्षक प्रथम, निमावि शिक्षक द्धितिय र मावि शिक्षक तृतीयलाई शाखा अधिकृत सरह, निमावि शिक्षक प्रथमलाई र द्धितियलाई उपसचिव सरह र मावि शिक्षक प्रथमलाई सहसचिव सरह निर्वाचनमा परिचालन गर्न माग गरिएको छ ।

अन्यथा निर्वाचन कार्यक्रममा असहयोग गर्नुपर्ने बाध्यता सिर्जना हुन सक्ने विज्ञप्तिमा उल्लेख गरिएको छ।

यसैबीच, नेपाल राष्ट्रिय शिक्षक संगठन सोलुदुधकुण्ड नगर कमिटिले आसन्न निर्वाचनमा अस्थायी, करार र राहत शिक्षकलाई पुर्ण रुपमा उपेक्षा गरिएको प्रेस विज्ञप्ती निकालेको छ । नगर कमिटि अध्यक्ष गणेश कुमार कार्कीले हस्ताक्षर गरेको प्रेस विज्ञप्तीमा नगरपालिकाभित्रका कर्मचारीलाई विभिन्न तहमा खटाउदा सोही योग्यता भएकालाई वेवास्ता गरिएको उल्लेख गरिएको छ ।

निर्वाचन अधिकृतको कार्यालयबाट भएको विभेद पुर्ण र पक्षपातपुर्ण व्यवहार सच्याउन नेपाल राष्ट्रिय शिक्षक संगठन सोलुदुधकुण्ड नगर कमिटिले माग गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार