आयोजनास्थलमै सम्झौता र अनुशिक्षण

सोलुखुम्बु। सोलुखुम्बुको एक मात्र नगरपालिका सोलुदूधकुण्ड नगरपालिकाले आयोजनास्थलमै योजना सम्झौता र अनुशिक्षण गरेको छ । नगरपालिकाको वडा नम्बर १ मा सञ्चालन हुने विभिन्न योजनाहरूको सोही स्थानमा नगरपालिकाको टोली पुगेर सम्झौता गरेको हो ।

गाउँमै योजना सम्झौता गर्न पाउँदा उपभोक्ता समितिमा रहेका स्थानीयहरू खुशी भएका छन् । सडक स्तरोन्नतिका लागि उपभोक्ता समितिको अध्यक्ष बन्नुभएका छिरिङ शेर्पाले योजनास्थलमै नगरपालिकाको टोली आएर योजना सम्झौता गर्न पाउँदा खुशी लागेको बताउनुभयो । समय र खर्चका हिसाबले निकै सहज भएको छ, कुनै कागजपत्र नपुगेर गाउँ र नगरपालिका धाउनु पनि परेन, उहाँले भन्नुभयो ।

उहाँ जस्तै अर्का उपभोक्ता समितिका अध्यक्ष पूर्णबहादुर राईले पनि आफ्नै ठाउँमा योजना सम्झौता गर्न पाउँदा गाउँ गाउँमा सिंहदरबार आएको खास अनुभूति भएको बताउनुभयो । यस्ता कामले नगरपालिकाको नेतृत्व जनता र विकास निर्माणमा संवेदनशील रहेको देखिएको उहाँको भनाइ छ ।

जनताको सहज सेवा तथा विकास निर्माणका लागि गरिएको स्थानीय सरकारको परिकल्पनाअनुसार आफू नेतृत्वको नगरपालिका लागिपरेको नगरप्रमुख नाम्गेलजाङ्बु शेर्पाले बताउनुभयो । नगरपालिकाले यस्ता धेरै काम जनताको नजिकमा पुगेर गरिरहेको उहाँको भनाइ छ । भौगोलिक रुपमा टाढा भएकाले स्थानीय उपभोक्ता समितिलाई पहिलो चरणको प्रक्रिया सम्बन्धित स्थानमा गरिएको योजना अधिकृत रामकुमार खड्काले बताउनुभयो ।

यस अवसरमा उपभोक्ता समितिलाई योजनाको सुरुवातदेखि अन्त्यसम्म गर्नुपर्ने प्रक्रियाका बारेमा अनुशिक्षण समेत गरिएको छ । शीर्षक संशोधन गर्नुपर्ने बाहेक सबै योजना सम्झौता गरिएको त्यस वडामा योजना हेर्ने प्राविधिक पासाङ शेर्पाले बताउनुभयो । योजना अधिकृत खड्काको नेतृत्वमा गएको टोलीमा इन्जिनियर फूर्वा शेर्पा, कम्पूटर अपरेटर सन्तोष आचार्यलगायतले सहजीकरण गर्नुभएको थियो।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार