को हुन् सभामुखमा निर्वाचित घिमिरे ?

काठमाडौं । प्रतिनिधि सभाको सभामुख निर्वाचित भएका देवराज घिमिरे सत्ता गठबन्धनको एमालेबाट उम्मेद्‍वार रहेका थिए। उनी कांग्रेसकी उम्मेद्‍वार ईश्वरी न्यौपानेलाई हराउँदै सभामुखमा निर्वाचित भएका हुन्।

को हुन् त घिमिरे ?

ताप्लेजुङको सिरिजंघा गाउँपालिका-३ मा बुबा पदमप्रसाद घिमिरे र आमा भिमकुमारी घिमिरेको कोखबाट १२ जना छोराछोरीमध्ये माइलो छोराकोरुपमा २०१३ साल जेठ १३ गते देवराज घिमिरेको जन्मभएको थियो।

निम्न मध्यम परिवारमा जन्मिएका घिमिरेले गाउँकै सिंहदेवी प्राथमिक विद्यालयबाट स्कुले शिक्षाको सुरुवातगरी ताप्लेजुङ सदरमुकामको भानु पब्लिक हाई स्कुलबाट २०२९ सालमा एसएलसी उत्तीर्ण गरेका थिए। धरानको महेन्द्र बहुमुखी क्याप्पसबाट आईए र त्रिचन्द्र क्याम्पस काठमाडौंमा स्नातक अध्ययन गरेका छन्।

२०३१ सालमा झापा विद्रोहपछि नेपाल कम्युनिष्ट पार्टीको सम्पर्कमा रहेका घिमिरे २०३२ माघदेखि अखिल नेपाल कम्युनिष्ट क्रान्तिकारी को–अर्डिनेशन कमिटी (कोके)गठनपछि विद्यार्थी संगठनमार्फत पार्टी काममा होमिएका थिए। २०३३ सालमा आफ्नो शिक्षालाई थाती राखेर गाउँगाउँ पुगेर पार्टीको संगठन निर्माणमा खटिभएका घिमिरेले भूमिगत भएर कोकेमा काम गरेको ३ वर्षपछि २०३५ साल भदौमा नेपाल कम्युनिष्ट पार्टीको सदस्यता प्राप्त गरेका थिए।

२०३५ सालमा नेपाल कम्युनिष्ट पार्टीको सदस्यता प्राप्त गरेका घिमिरेले आफ्नो ४५ वर्षे लामो औपचारिक राजनीतिक जिवनमा विभिन्न जिम्मेवारीहरु सम्हालेका छन्। उनी २०३९ सालमा इलाम जिल्लाको पार्टी प्रमुखहुँदै २०५० सालमा नेकपा एमालेको मेची अञ्चल इन्चार्ज भएका थिए।

२०७५ सालमा नेकपाको प्रदेश १ अध्यक्षको जिम्मेवारी सम्हालेका घिमिरे २०७९ मा प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार