श्रम स्वीकृति आवेदन निःशुल्क भर्दै सोलुदुधकुण्ड नगरपालिका

सोलुखुम्बु । सोलुदुधकुण्ड नगरपालिकाले श्रम स्वीकृतिका लागि निःशुल्क अनलाइन आवेदन दिने व्यवस्था गरेको छ ।

नेपाल सरकारबाट स्वीकृत प्राप्त देशहरूमा वैदेशिक रोजगारीमा जान लागेका र वैदेशिक रोजगारबाट फर्केर पुनः वैदेशिक राजगारीमा जानका लागि श्रम स्वीकृति लिनेहरुका लागि अनलाइन आवेदन दिने काम निःशुल्क गर्न लागेको सोलुदुधकुण्ड नगरपालिकाका रोजगार सेवा केन्द्रका संयोजक मिङमार शेर्पाले जानकारी दिनुभयो हो ।

वैदेशिक रोजगार विभागमा अनलाइन आवेदन गरी श्रमिकले श्रम स्वीकृति प्राप्तः गर्न सक्ने व्यवस्था भएपनि अधिकांश नेपाली श्रमिकले अनलाइन आवेदन अन्य अनाधिकृत व्यक्ति वा सेवाप्रदायक संस्थामार्फत गर्दा श्रमिकको सम्पूर्ण विवरण प्रविष्ट नहुने, सो बापत धेरै रकम तिर्न बाध्य हुनुपर्ने र विभिन्न बहाना बनाइ श्रमिकलाई दुःख दिने कार्य हुन सक्ने अवस्थालाई मध्यनजर गर्दै यस्तो व्यवस्था गर्न लागिएको सोलुदुधकुण्ड नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कोपिला राईले बताउनुभयो ।

वैदेशिक रोजगारीलाई थप व्यवस्थित, मर्यादित एवं भरपर्दो बनाई स्थानीय तहसम्म पहुँच अभिवृद्धि गर्न नगरपालिकाको रोजगार सेवा केन्द्रबाट यही बैशाखददेखिनै आवेदन गर्न सकिने जनाइएको छ ।

नेपाल सरकारबाट स्वीकृत प्राप्त देशहरूमा वैदेशिक रोजगारीका लागि जान इच्छुक कामदारहरूलाई वैदेशिक रोजगार विभागको वेबसाइटमार्फत आफ्नो सीप अनुसारको काम र जान चाहेको देशको विवरण खोजी गरी Job apply गर्न तथा वैदेशिक रोजगार सम्बन्धी अन्य जानकारी लिने कार्यमा नगरपालिकाको रोजगार सेवा केन्द्रले सहयोग तथा सहजीकरण गर्ने भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार