सन्तोष राउत/सोलुखुम्बु । माप्यदूधकोशी गाउँपालिका २ मा रहेको बासा खाली माध्यमिक विद्यालयमा छात्रा होस्टेल सञ्चालनमा आएको छ । सुनौलो शिक्षा नेपालको करिब २७ लाख २३ हजार रुपियाँको लगानीमा मर्मत गरी सञ्चालनमा आएको सुनौलो शिक्षा नेपालका कार्यक्रम अधिकृत प्रदिप थापाले जानकारी दिनुभयो ।
केही समयअघि निर्माण भई सञ्चालनमा आउन नसकेको २० जनाको क्षमता रहेको छात्रावास निर्माणमा करिब ४ लाख रुपियाँ बराबरको काम विद्यालय मार्फत स्थानीय श्रमदानबाट गरिएको छ । रिहेल्प भन्ने संस्थाले निर्माण गरेको उक्त छात्रावास मर्मत सम्भार पश्चात सञ्चालनमा आएपछि दुर्गम पहाडका बालिकाहरुलाई गुणस्तरीय शिक्षा प्रदान गर्न सहज हुने अधिकृत थापाले बताउनुभयो ।
संस्थाले शिक्षाको माध्यमबाट बालबालिकाको उज्ज्वल भविष्य निर्माण गर्नका लागि वर्षेनि दर्जनौँ विद्यार्थीहरुलाई सहयोग प्रदान गर्ने लक्ष्य राखेको छ । छात्राबासमा एक महिला वार्डेन, विद्यार्थी र कर्मचारीहरूका लागि खाना तयार गर्न एकजना कुक र ग्रीनहाउसको निरीक्षण गर्न र बोर्डिङ हाउसका लागि विभिन्न तरकारी खेती गर्न माली रहने बताइएको छ ।
छात्राबासमा अंग्रेजी, गणित र विज्ञान विषयका अतिरिक्त कक्षा समेत सञ्चालन हुने छात्रावास सञ्चालनका लागि स्टे एट स्कुलले वार्षिक ५ लाख रुपियाँ अनुदान उपलब्ध गराउनेछ । यसका साथै एसइई परीक्षामा उच्च अंक हासिल गर्नका लागि शीतकालीन कोचिङ्ग कक्षा सञ्चालन गर्ने छ । प्रत्येक वर्ष एसईई उत्तीर्ण ५–६ विद्यार्थीहरूलाई फेलोशिप कार्यक्रमका लागि छनोट गरिने छ । होस्टेलमा बस्ने विद्यार्थीहरूको जीवनमा महत्वपूर्ण परिवर्तन ल्याउनेछ ।
यसअघि स्टे एट स्कूल नेपालले सोलुखुम्बुको लिखुपिके गाउँपालिकाको भकञ्जे, सोलुदुधकुण्ड नगरपालिकाको जुनबेसी माध्यमिक विद्यालय, थुलुङ दुधकोशीको जीवनज्योति माध्यमिक विद्यालय र जनता मावि लोखिममा छात्रावास भवन निर्माण गरी सञ्चालमा ल्याइ सकेको छ ।