सोलुखुम्बु। सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका मकै बालीको बीमा गराउने मुलुककै पहिलो स्थानीय तह बनेको छ । देशमै पहिलो पटक सोलुदुधकुण्डले पालिकाभित्रका सबै किसानले लगाएको मकै बालीको एकमुस्ट बीमा गराएको नेपाल बीमा प्राधिकरणले जनाएको छ ।
नगरपालिकाले ११ वटै वडाका तीन हजार छ सय किसानले एक हजार ८० हेक्टर क्षेत्रफलमा लगाएका मकै बालीको बीमा गराएको प्राधिकरणका कार्यकारी निर्देशक राजु रमन पौडेलले बताउनुभयो। सोलुखुम्बुमा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडमार्फत गराएको उक्त बीमाका लागि नेपाल सरकारले प्रदान गर्ने ८० प्रतिशत अनुदान बाहेकको बीमीतले बुझाउनुपर्ने २० प्रतिशत रकम नगरपालिकाले लगानी गरेर बीमा गरिदिएको हो ।
नगरपालिकाले एकमुस्ट १० लाख ५ हजार ७२० रुपियाँ भुक्तानी गरेको नगरप्रमुख नाम्गेल जाङबु शेर्पाले बताउनुभयो । मकै बालीमा रोग, किरा तथा प्राकृतिक विपत्तीबाट हुँदै आएको क्षतिलाई नियन्त्रण गर्न चालु आर्थिक वर्ष २०७९/०८० को बजेटमै व्यवस्था गरी कार्यक्रम सञ्चालन गरेको नगरप्रमुख शेर्पाले बताउनुभयो।
नगरपालिकाले वडा नम्बर १,२ र ३ मा २/२ सय जना किसानले लगाएको ६०/६० हेक्टर, वडा नम्बर ४ मा तीन सय जना किसानको ९० हेक्टर, ५ मा २५० किसानको ७५ हेक्टर र ६ मा तीन सय जना किसानले ९० हेक्टर क्षेत्रफलमा लगाएको मकैको बीमा गराएको छ । त्यस्तै, वडा नम्बर ७ मा चार सय जना किसानले लगाएको १२० हेक्टर, ८ र ९ मा ४/४ सय जना किसानको एक सय २०/२० हेक्टर, १० मा ३५० किसानको १०५ हेक्टर र वडा नम्बर ११ मा छ सय किसानले लगाएको १ हजार ८० हेक्टर क्षेत्रफलमा खेती गरिएकोे मकै बालीको बीमा गराएको आइएमई जनरल इस्योरेन्स शाखा कार्यालय सोलुखुम्बुका प्रमुख खगेन्द्र बनले बताउनुभयो।
कृषि तथा पशुपन्छी बीमामा अत्याधिक दाबी पर्ने गरेको भएता पनि कृषकलाई हुने क्षति न्यूनिकरण गर्न कम्पनीको नाफा घाटालाई ख्याल नगरी मकै बालीको बीमा गरिएको प्रमुख बनको भनाइ छ । उक्त मकै बालीको बीमालेख जारी गरी नगरपालिकालाई हस्तान्तरण गरिएको छ । नगरपालिकाभित्रको मकै बालीमा रोग, किरा तथा हावाहुरी, असिनापानीलगायतका प्रकृतिक विपत्तीबाट क्षति भएमा ९० प्रतिशत सम्मको रकम बीमा बापत पाउने बिमक कम्पनीले जनाएको छ ।
हिमाली जिल्लाको यस पालिकाको अधिकांश क्षेत्रहरुमा मकै बाली हुने गरेको छ । तर वर्षेनि रोग किरा तथा प्राकृतिक विपत्तिबाट भएको क्षतिका कारण किसान निराश छन् । सोही विषयलाई ध्यान दिदै नगरपालिकाले बीमाको निति अघि सारेको बताएको छ । यसअघि जिल्लाको थुलुङ दुधकोशी गाउँपालिका वडा नम्बर १ नेलेले पनि मकै बालीको बीमा गराएको छ । तर पालिका भरका मकै बालीको बीमा गराउनेमा भने सोदुधकुण्ड नगरपालिका मुलुककै पहिलो स्थानीय तह बनेको नेपाल बीमा प्राधिकरणले जनाएको छ ।
आइएमई जनरल इन्स्योरेन्स र प्रुडेन्सियल इस्योरेन्स हाल मर्जरको प्रक्रियामा रहेकाले यहि बैशाख २७ गतेदेखि आइजीआई इस्योरेन्सको नामबाट एकिकृत सेवा सुचारु हुने जनाइएको छ ।