सोलुखुम्बु। सोलुदूधकुण्ड नगरपालिकाको आयोजनामा जातीय छुवाछुत तथा भेदभाव विरुद्ध सचेतनामुलक अन्तरक्रिया सम्पन्न भएको छ। सदरमुकाम सल्लेरीमा भएको अन्तरक्रियामा नगरपालिकाभित्रका छुवाछुत तथा भेदभावमा परेका नागरिकहरूको उल्लेख्य सहभागिता रहेको थियो।
छुवाछुत तथा भेदभावमा परेका नागरिकलाई आफ्नो हक अधिकार र कानुनी व्यवस्थाका विषयमा जानकारी गराउदै शसक्त बनाउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको सोलुदूधकुण्ड नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कोपिला राईले बताउनुभयो।
कार्यक्रममा जातीय छुवाछुत तथा भेदभावको विगत र वर्तमानको अवस्था, विद्यमान कानुनी व्यवस्था, कानुन कार्यान्वयनको समस्या तथा समाधानको उपायका बारेमा छलफल भएको छ।
त्यस्तै, नेतृत्व विकास तथा संवैधानिक व्यवस्थाका विषयमा समेत छलफल भएको छ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी बसन्त भट्टराई, प्रमुख प्रशासकीय अधिकृत कोपिला राई र जिल्ला अदालतका श्रेस्तेदार महेन्द्र कालाखेतीले विभिन्न विषयमा सहजीकरण गर्नुभएको थियो। कार्यक्रमको समन्वय कार्यपालिका सदस्य निरकुमार नेपालीले गर्नुभएको थियो।